समाज


पत्रकार पुडासैनी आत्महत्या प्रकरणः सीआइबीले थाल्यो छुट्टै अनुसन्धान

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः सीआइबीले थाल्यो छुट्टै अनुसन्धान

नेपालखबर
भदौ १, २०७६ आइतबार १३:२४,

 पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरी अनुसन्धानको दोस्रो चरणमा पुगेको छ। चितवन प्रहरीले हेरिरहेको यो मुद्दा अब केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अझ सुक्ष्म रुपमा केलाउने भएको छ।

ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा शनिबार राती चितवन पुगेको टोलीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब (डिएफएल) को प्रतिवेदनसहितका विषयमा अध्ययन गरिरहेको हो। पत्रकार मोबाइल भिडियो जाँच डिएफएलले गरेको थियो।

ब्युरोको टोलीले शालिकराम पोष्टमार्टम रिपोर्ट समेत विस्तृतमा केलाउनेछ।

‘घटना आत्महत्या भए पनि त्यसभित्र लुकेका धेरै विषयमा अनुसन्धान आवश्यक छ,’ प्रहरी उच्च स्रोतले नेपालखबरसँग भन्यो ‘ब्युरोको विशेषज्ञ टोलीले ती विषयमा केन्द्रीत रहेर अनुसन्धान सुरु गरेको छ।’

पत्रकार शालिकरामको मोबाइलमा भिडियो बाहेक अन्य सामग्री समेत भेटिएका थिए। ती सामग्री के हुन् भनेर प्रहरीले अहिलेसम्म खुलाएको छैन। गोप्य राखिएका ती विषयमाथि सीआइबीको टोलीले अनुसन्धान थालेको हो।

ब्युरो टोली चितवन पुगेसँगै प्रहरीले अनुसन्धान अझ सुक्ष्म बनाएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘कल डिटेलदेखि घटना समय, घटनास्थल वरपर सक्रिय मोबाइलको विवरण समेत झिकाएर अनुसन्धान हुन्छ। अनुसन्धान अझ न्यारो डाउन गरेर विस्तृत अनुसन्धान हुनेछ।’

पत्रकार शालिकराम चितवनको पोखरा बसपार्कस्थित होटल कंगारुमा २०७६ साउन २० मा मृत भेटिएका थिए।

किटानी जाहेरी दर्ता
मृतक पत्रकार पुडासैनीकी श्रीमती सम्झनाले आइतबार घटनामा आरोपित रविसहित ३ जनाविरुद्ध काठमाडौं प्रहरीमार्फत् किटानी जाहेरी दर्ता गरेकी छिन्। योसँगै प्रहरीले दुरसञ्चार प्रदायक कम्पनीसँग अनुसन्धानमा तानिएका ब्यक्तिहरुको कल डिटेल लगायतका विवरण माग्ने तयारी गरेको छ।

प्रहरीले आईतबार चितवन जिल्ला अदालतबाट विवरणका लागि अनुमति लिन निवेदन दिएको छ। अदालतबाट अनुमति पाएसँगै घटनासँग जोडिएका पात्रहरुको कल डिटेल निकालेर सीआईबीले विश्लेषण गर्नेछ।

पत्रकार शालिकरामले मर्नुअघि होटलको कोठामा आफूलाई आत्महत्याका लागि न्युज २४ मा प्रसारण हुने 'सिधाकुरा जनतासँग'का प्रस्तोता रवि लामिछाने, सोही कार्यक्रमका संवाददाता युवराज कँडेल र नर्स रुकु भन्ने अस्मिता कार्की जिम्मेबार रहेको बयानसहित भिडियो बनाएका थिए। उनले भिडियोमा रविसहितको समूहले कार्यक्रममार्फत् मोटो रकम बार्गेनिङ गर्ने गरेको र यसमा वेलकम एडर्भटाइजिङले मध्यस्थता गर्ने आरोप लगाएका छन्। सिआइबीले लेदेनसहितको विषयमा अनुसन्धान अघि बढाउन लागेको हो।

प्रहरीले २०७६ साउन ३० मा काठमाडौंबाट रवि, युवराज र अस्मितालाई पक्राउ गरेर चितवन लगेको छ। उनीहरुलाई हिरासतमा राखी आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान भइरहेको छ। तीनै जनासँग भेटघाटका लागि प्रहरीले सामान्य कैदी सरह सुविधा दिएको दाबी गरेको छ।

यो पनि: रवि लामिछाने पक्राउपछि हुनुपर्ने बहस के हो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .