आज बिहीबार पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना रहेको जानकारी मौसमविद्ले दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पनि काठमाडौँ उपत्यकामा मध्यम स्तरको वर्षा हुने सम्भावना देखिएको हो।
‘आज बिहान पनि काठमाडौँ उपत्यकामा पानी परेको थियो। विगत १२ घण्टामा हाम्रा वर्षा मापन केन्द्र भएका उपत्यकाका सबै स्थानमा हल्का वर्षा भएको छ’, उनले नेपालखबरसँग भने, ‘अहिले भने रोकिएको छ। तर दिउँसो २/३ बजेपछाडि फेरि मध्यमसम्मको वर्षा हुने सम्भावना देखिएको छ।’
मौसमविद् पुडासैनीका अनुसार काठमाडौँ उपत्यकामा आजदेखि ३ दिन (शनिबार) सम्म नै वर्षा हुने क्रम जारी रहने सम्भावना छ।
‘उपत्यकामा आज मात्र होइन, आगामी ३ दिनसम्म नै वर्षाका गतिविधि हुने देखिएको छ’ , उनले भने, ‘भोलि काठमाडौँमा भारी वर्षा नै हुने अनुमान छ।’
मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अध्ययन गर्ने गरेको छ।
देशभरको मौसम र वर्षा सम्भावनाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ।
Shares

प्रतिक्रिया