मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहीबार बिहान) देशभर साधारणतया बादल लागेको छ। कोसी, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र रातिका लागि यस्तो छ प्रक्षेपण:
दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति : देशभर अधिकांश बादल लाग्नेछ। कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेश साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

काठमाडौँ उपत्यकामा ३ दिनसम्म वर्षा जारी रहने देखिन्छ: मौसमविद्
आज बिहीबार काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको जानकारी मौसमविद्ले दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पनि काठमाडौँ उपत्यकामा मध्यम स्तरको वर्षा हुने सम्भावना देखिएको हो।
‘आज बिहान पनि काठमाडौँ उपत्यकामा पानी परेको थियो। विगत १२ घण्टामा हाम्रा वर्षा मापन केन्द्र भएका उपत्यकाका सबै स्थानमा हल्का वर्षा भएको छ’, उनले नेपालखबरसँग भने, ‘अहिले भने रोकिएको छ। तर दिउँसो २/३ बजेपछाडि फेरि मध्यमसम्मको वर्षा हुने सम्भावना देखिएको छ।’
मौसमविद् पुडासैनीका अनुसार काठमाडौँ उपत्यकामा आजदेखि ३ दिन (शनिबार) सम्म नै वर्षा हुने क्रम जारी रहने सम्भावना छ।
‘उपत्यकामा आज मात्र होइन, आगामी ३ दिनसम्म नै वर्षाका गतिविधि हुने देखिएको छ’ , उनले भने, ‘भोलि काठमाडौँमा भारी वर्षा नै हुने अनुमान छ।’
मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अध्ययन गर्ने गरेको छ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

आज यी जिल्लामा बाढीको जोखिम
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज सिन्धुपाल्चोकसहित ७ जिल्लामा बाढीको जोखिम हुने सम्भावना देखिएको छ।
बाढी महाशाखाले भनेको छ, ‘आज पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना छ।’
बाढीबारे विस्तृत जानकारी तल



Shares

प्रतिक्रिया