समाज


सर्लाहीमा सर्पको बिगबिगी

सर्लाहीमा सर्पको बिगबिगी

फाइल फोटो


नेपालखबर
असार २१, २०८३ आइतबार ७:२१, सर्लाही

यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी भएको छ।

लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको छ। उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म ३०५ जना सर्पले डसेर उपचारका लागि केन्द्रमा आइसकेका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो।

दैनिक तीनदेखि सात जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताए। 'अन्य समयमा पनि सर्पले डसेका बिरामी आउँछन्', अध्यक्ष पौडेलले भने, 'तर, फागुनबाट भदौ, असोजसम्म धेरै सर्पको डसाइका बिरामी उपचारका लागि आउँछन्।'

मुसाको दुलो झाडीलगायतका ठाउँमा बस्न रुचाउने विषालु सर्प गर्मी बढेसँगै बाहिर निस्कने गर्दछन् भने रातको समयमा आहाराको खोजीमा निस्किएको सर्प मानिसको सामुन्ने हुँदा आक्रमण गर्ने विज्ञहरूको भनाइ छ। सर्पले मानिस खोज्दै नहिँड्ने तर, मानवीय गतिविधिका कारण सुरक्षा चुनौती महसुस गरी आफ्नो बचाउका लागि डस्ने केन्द्रका अध्यक्ष पौडेलले बताए। 

उपचार केन्द्रको तथ्याङ्कअनुसार यस वर्षको फागुनमा १७, चैतमा ४७, वैशाखमा ६५, जेठमा ८५ र असारको तेस्रो हप्ता सकिनै लाग्दा ९१ जनालाई सर्पले डसेको छ। त्यसमध्ये विषालु कमन करेतले डसेका तीन जनालाई उपचारका लागि जनकपुर रिफर गरिएको स्वास्थ्य सहायक यादवले बताए।

बाँकी सबैको केन्द्रमै उपचार भएको थियो। उपचारका लागि आउनेमध्ये पाँचदेखि सात प्रतिशत बिरामीको शरीरमा विष फैलिएको पाइने गरेको छ। भने १५ देखि २० प्रतिशत सुक्खा डसाइ  तथा ७३ देखि ८० प्रतिशतसम्म डसाइको शङ्का लागेका र विष नभएका सर्पको डसाइको बिरामी आउने गरेका स्वास्थ्य सहायक यादवले बताए।  

एकैपटक दुई जनासम्मलाई आपत्कालीन उपचार सेवा प्रवाह गर्न सक्ने क्षमता रहेको यस केन्द्रमा दुई जना एमबिबीएस डाक्टर, दुई जना सीएमए, तीन जना एचए र दुई जना नेपाली सेनाका स्वास्थ्य समूहका प्राविधिक छन्। सर्पले डसे डस्ने सर्पको पहिचान गर्ने र ढिला नगरी उपचार केन्द्र पुर्याउनुपर्ने चिकित्सकहरू बताउँछन्।

अझै पनि सर्पले डसेका बिरामीको झारफुकबाट विष झार्ने विश्वासमा बिरामीको ज्यान जाने गरेको भन्दै त्यसो नगर्न विज्ञहरूको सुझाव छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad