वीरगन्ज महानगरपालिका– १० मा डेरा गरी बस्दै आएकी रौतहटको दिपही निवासी २० वर्षीया लक्ष्मी भन्ने माही गुप्ताले गएको चैत २९ गते आफ्नै कोठामा मृत फेला परिन्। पासो लगाई आत्महत्या गरेको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ।
मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएकी उनी मोडल तथा सामाजिक सञ्जाल टिकटक स्टारका रूपमा परिचित थिइन्। प्रेममा धोखा खाएपछि उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। मृत्युको बाटो राेज्नुअघि उनले टिकटकमा भावनात्मक पीडा पोखेको पाइएकाे छ।
उनका आफन्तका अनुसार ७ वर्षअघि नै उनी आफ्नै गाउँका विवेक गुप्तासँग प्रेमविवाह गरेर वीरगञ्ज बस्दै आएकी छिन्। लिभिङ्ग टुगेदरमा बस्दै आएका युवकले अर्को विवाह गर्ने तयारी गरेको थाहा पाएपछि सम्बन्धमा खटपट सुरु भएको थियो। त्यसबाट उनी मानसिक तनाव रहेको देखिएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक नवीन थापा मगरले बताए।
गएको चैत ४ गते धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी थिइन्। ससुराली पक्षले उनले आत्महत्या गरेको दाबी गरे पनि माइती पक्षले छोरीको हत्या भएको आरोप लगाउँदै आएका छन्। प्रहरीले भने घटना अनुसन्धानकै चरणमा रहेको बताएको छ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो गत साता घरमै मृत भेटिइन्। उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
मुकेश र विभाले ५ वर्षअघि मात्रै भागेर अन्तरजातीय विवाह गरेका थिए।
विवाह गरेको लामो समयसम्म पनि उनीहरूका सन्तान भएका थिएनन्। सन्तान नभएको भन्दै विभालाई ससुराली पक्षले शारीरिक तथा मानसिक यातना दिदैं उनको माइती पक्षले आरोप लगाएका छन्।
जनकपुरधाम कटैया चौरीकी २७ वर्षीया रोशनी झा पनि केही महिनाअघि आफ्नै घरमा मृत भेटिएकी थिइन्। घरका सदस्यहरुले रोशनीले आत्महत्या गरेको जानकारी माइती पक्ष र प्रहरीलाई दिएका थिए। उनको चार वर्ष अघि सामाजिक परम्परा अनुसार प्रशान्त मिश्रसँग बिहे भएको थियो।
शंकास्पद देखिएको यो घटनामा ससुराली पक्षको उजुरीको आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन आरोपमा अनुसन्धान अघि बढाएको थियो। तर पछि माइती पक्षले उनको हत्या नै भएको भन्दै प्रदर्शन गरेपछि घटनालाई हत्याको रुपमा धनुषा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अहिले राेशनीका श्रीमान प्रशान्त पुर्पक्षका लागि थुनामा छन् भने अन्य तीन जना आरोपित धरौटीमा छुटेका छन्।
२०८१ वैशाख ९ गते धनुषामा आत्महत्याको हृदयविदारक घटना भयो।
धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहाका सुशील साहकी श्रीमति ३० वर्षिय पविता साहले श्रीमानसँग घरायसी विवादमा आफ्ना ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहसहित आफैँ आत्महत्या गर्ने प्रयास गरिन्।
उपचारपछि उनी बाँचे पनि तीनै सन्तानलाई तीन सन्तानको निधन भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) संजीव यादवले बताउँछन्।
मधेसमा आत्महत्याका घटना बढ्दै गएको यी घटनाले गजार गर्छ। प्रहरी तथ्यांक अनुसार मधेस प्रदेशमा दैनिक ३–४ जनासम्मले आत्महत्या गर्ने गरेका छन् ।
आर्थिक वर्ष २०८०/०८१ देखि चालू आर्थिक २०८२/०८३ को फागुन मसान्तसम्म मधेसमा तीन वर्षमा ३ हजार ३४८ जनाले आत्महत्या गरेका छन्।
आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी छ। प्रहरीको तथ्यांक अनुसार चालु आ.व. गत २ वर्ष ८ महिनाको अवधिमा पुरुषले एक हजार ३१६ जना, महिला १ हजार २४६ र बालबालिका ७६८ जनाले आत्महत्या गरेका छन्।

महिला भन्दा बढी पुरुषले आत्महत्या गर्ने गरेको भएपनि त्यसमा न त अनुसन्धान हुन्छ न मिडियामा समाचार नै आउँछन्। पुरुष र बालबालिकाले आत्महत्या गरेपनि त्यसले मिडियामा स्थान नपाउँदा त्यसको सही चित्र बाहिर आउँदैनन।
महिलाको घटना मात्रै बाहिर आउनु वा समाचार बन्नुको प्रमुख कारण माइती पक्ष वा आफन्तले हत्या गरेको भनेर प्रहरीमा जाहेरी दिएपछि र प्रदर्शन गर्नु हो।
मधेश प्रदेशमा आत्महत्या बढनुको कारण सामाजिक सञ्जाल, प्रेम सम्बन्धले उत्पन्न तनाव, घरायसी विवाद, लागू औषध सेवन र घरेलु हिंसा रहेको अनुसन्धानका क्रममा देखिएको प्रहरी बताउँछन्। तर मनोपरामर्श विज्ञ तथा चिकित्सकहरू भने मानसिक तनावको कारण पनि आत्महत्या बढ्दै गएको बताउँछन्।
तर सरोकारवालाहरू भने आँखाले देखिएका र प्रहरीले जाहेरी दर्ता गरेका सबै घटना आत्महत्या नहुने तर्क गर्छन्।
सुरुमा आत्महत्या भनिएपनि पछि अनुसन्धान गर्दै जाँदा हत्या भएको रहस्य खुल्न जान्छ। अधिकांश घटनामा पीडक पक्षकै भनाई अनुसार अनुसन्धान गरी हत्यालाई पनि आत्महत्या भनेर प्रहरीले फाइल बन्द गर्ने गरेका छन्।
कति घटना त आत्महत्या दुरुत्साहनका हुन्छन्। तर प्रहरीले त्यसमा सुक्षम अनुसन्धान नै नगरी बाहिरी रुपमा देखिएका केही व्यक्तिले भनेका आधारमा आत्महत्या भनेर अनुसन्धान नै नगरी फाइल बन्द गर्ने गरेका आरोप लाग्दै आएको छ।
यस्तो छ आत्महत्याको तथ्यांक
प्रहरी प्रधान कार्यालयका अनुसार गएका तीन वर्षमा ३ हजार ३४८ जनाले आत्महत्या गरेका छन्। चालु आर्थिक वर्षमा मात्रै ७९३ जनाले आत्महत्या गरेका छन्। जसमा पुरुषको संख्या २८२, महिलाको ३०४ र बालबालिकाको २०७ रहेको छ। यसमा बालिकाको संख्या मात्रै १७२ छ।
यी घटनामा आत्महत्या दुरुत्साहन मुद्दातर्फ गएका तीन वर्षमा ४९९ जना पक्राउ परेका छन्। चालु आ.व.मा ११४, आ.व. २०८१/०८२ मा १८८ र आ.व. २०८०/०८१ मा १९७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको मधेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोविन्द थापालियाले जानकारी दिए।
तराई मधेशमा हत्या र आत्महत्याका धेरै घटना घर र समाजभित्रै गुपचुप हुने गरेको। डीआईजी थापालिया भन्छन् ‘धेरै घटना त प्रहरीसम्म नै पुग्दैनन्। घर परिवार वा समाजले व्यक्तिले इज्जत प्रतिष्ठा र प्रहरीको झमेलामा किन पर्नु भन्दै शव जलाउने गरेका छन्।’
अनुसन्धानमा आत्महत्याको कारण
मधेसमा आत्महत्या घटना पछिल्लो समय गम्भीर सामाजिक समस्याका रूपमा देखा पर्न थालेको छ। बेरोजगारी, मानसिक तनाव, पारिवारिक घरेलु विवाद, दाइजो प्रथा, प्रेम र विवाहेत्तर सम्बन्धसँग जोडिएका घटनाहरू आत्महत्याका प्रमुख कारण रहेको अनुसन्धानले देखाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसन्धान प्रहरी अधिकृत अर्जुन खतिवडाका अनुसार पछिल्लो समय आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिन थालेको छ।
दाइजो प्रथा, घरेलु हिंसा, मानसिक तनाव र घरायसी विवाद मधेसमा महिलाले आत्महत्या गर्नुको प्रमुख समस्याको रुपमा देखिने गरेकाे खतिवडा बताउँछन्।
यस्तै पुरुषतर्फ बेरोजगारी, श्रीमान–श्रीमतीबीचको सम्बन्धमा समस्या, लागू औषध तथा मादक पदार्थ सेवन र पारिवारिक तनावका कारण आत्महत्या गर्ने प्रवृत्ति बढ्दो छ ।
विशेषगरी तराई–मधेस क्षेत्रमा बेरोजगारी र पारिवारिक विवादले पुरुषहरूलाई बढी मानसिक दबाबमा पार्ने गरेको देखिएको छ। सोही कारण उनीहरू डिप्रेसनमा पुगेर आत्महत्यासम्म गर्ने गरेको अनुसन्धानमा देखाएको उनको भनाई छ।
यस्तै, बालबालिका र किशोर–किशोरीहरू उमेर नपुग्दै प्रेम सम्बन्धमा पर्ने, परिवारले सम्बन्ध अस्वीकार गर्ने वा जबर्जस्ती अन्यत्र विवाह गरिदिने जस्ता कारणले पनि आत्महत्या गर्ने घटनाहरू बढ्दै गएको देखिएको छ।
किशोरहरू लागू औषध सेवनको कारण र किशोरी उमेर नपुग्दै प्रेम सम्बन्ध र पारिवारिक दबाव कारण आत्महत्यामा जाने गरेको अनुसन्धानमा देखिएको खतिवडा बताउँछन्।
आत्महत्या समस्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्य सचेतना, दाइजो प्रथाविरुद्ध कानुनको कार्यान्वयन, मनोपरामर्श, रोजगारका अवसर सिर्जना र सामाजिक कुरीति अन्त्य गर्नुपर्ने आवश्यकतामा राज्यले जाेड दिनुपर्ने प्रहरी निरीक्षक खतिवडाको तर्क छ।
जनकपुरका मनोचिकित्सक डा. रबिन झाले आत्महत्याका विभिन्न कारण भए पनि त्यसको प्रमुख कारक चाहि डिप्रेषण, लागू औषध तथा मादक पदार्थ र साइकोसिस नै भएको बताए।
उनी भन्छन ‘आत्महत्याको जुनसुकै कारण भएपनि त्यो डिप्रेषण वा साइकोसिसको अवस्थामै पुगेर गर्ने हो। तर पुरुषहरुमा केही फरक पनि छन्। जस्तै विभिन्न समस्याबाट बच्न वा पीडा कम गर्न लागू औषध सेवन तथा मादक पदार्थ सेवन गर्छन र त्यसबाट उत्पन्न नशामा गई आत्महत्या रोज्ने गरेका छन।’
उनले महिलाहरुमा दाइजो, घरायसी विवाद, प्रेम सम्बन्ध, श्रीमान वैदेशिक रोजगारमा रहँदा यता विकास हुने अवैध सम्बन्ध, सामाजिक सञ्जालबाट उत्पन्न समस्या कारण पनि डिप्रेषणको अवस्थामा पुग्ने र त्यसले आत्महत्या रोज्ने गरेकै बताए।
यस्तै वरिष्ठ चिकित्सक फिजिसियन डा. विजयकुमार सिंहले पनि पुरुषतर्फ बेरोजगारी, पारिवारिक विवाद, अवैध प्रेम सम्बन्ध र यी समस्याबाट उन्मुक्ति पाउन अपनाइएको बाटो लागू औषध तथा मादक पदार्थ सेवन नै आत्महत्या बढ्नुको कारण भएको बताए।
आत्महत्या नियन्त्रण गर्न के गर्ने?
बढ्दै गएको आत्महत्या जस्तो अति संवेदनशील घटनालाई नियन्त्रण गर्न सरकारबाट कुनै ठोस पहल भएको देखिँदैन। कानूनमा यसलाई अपराध होइन मानसिक स्वास्थ्य समस्याको रुपमा लिई ठोस कदम चालिएको पनि देखिँदैन।
तर आत्महत्या गर्न उक्साउनुलाई कानूनी अपराधको रुपमा लिई आत्महत्या दुरुत्साहन मुद्दामा दण्ड सजायको व्यवस्था भने गरिएको छ।
हुनत आजभालि मधेसका पनि केही ठाउँमा मनोपरामर्श केन्द्र र हेल्प लाइन खोलिएको छ। तर त्यो प्रभावकारी देखिँदैन।
गत आर्थिक वर्षमा गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो।
गृह मन्त्रालयका विपद् तथा द्वन्द व्यवस्थापन महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। तर त्यो कत्तिको कार्यान्वयन भयो खोजी भएको छैन।
Shares

प्रतिक्रिया