समाज


बिगही नदीमा निर्माण भयो नेपाल-भारतको साझा छठघाट

बिगही नदीमा निर्माण भयो नेपाल-भारतको साझा छठघाट

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १४:११, महोत्तरी

महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल-भारतको साझा घाट निर्माण गरिएको छ। बिगही नदीछेउमा करिब दुई किलोमिटर लामो आकर्षक घाट निर्माण गरिएको हो। 

नेपालतर्फ मटिहानी नगरपालिकाका वडा नम्बर ६, ७ र ८ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ को तुलसियाही तथा भारततर्फ मधवापुर र रामपुर बजारका बर्तालुका लागि छटघाट निर्माण गरिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए। 

दुई देश र दुई राष्ट्रियता भए पनि समान धर्म, संस्कृति, चाडपर्व, बिहेवारी र सुखदुःख आदानप्रदानको उन्नत प्रचलनले दुवै देशका नागरिकले साझा छठ घाट निर्माण गर्दै आएका उनले बताए। 

‘माझमा दशगजाले दुई देश छुट्याएको छ। हाम्रा वेषभूषा, भाषा, संस्कृति र चाडवाड समान छन्। हामीबीच सांस्कृतिक चाडपर्व एकआपसमा मिलेर मनाउने संस्कृति स्थापित छ, यो घाट यसैको उदाहरण हो’, नगरप्रमुख मण्डलले भने।

शनिबार यसपालिको महापर्व छठ ‘नहाय–खाय’ विधिबाट सुरु हुँदैछ। लोक आस्थाको यस पर्वमा आइतबार ‘खरना’, सोमबार ‘सझुकाघाट’ र मङ्गलबार बिहान ‘पारन’ (भोरका घाट) विधि गरेर सम्पन्न गरिने छ। 

यसैका लागि नेपाल भारतको यो साझा घाट सजाउन नेपाल तर्फका मटिहानी र तुलसियाही एवं भारत तर्फका मधवापुर र रामपुरका नागरिक जुटेका छन्। 

सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी) को उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर व्रतालुले अर्घ्य (अर्घ) दिनेछन्। 

यस घाटमा दुवै देशका गरी दुई हजारभन्दा बढी व्रतालुले अघ्र्य दिने र छठ घाट हेर्न १० हजारभन्दा बढी श्रद्धालु उपस्थित हुने अनुमान रहेको मटिहानी–७ का वडाध्यक्ष जितनारायण माझीले बताए।    

सझुकाघाटमा अर्घ्यको समयदेखि भोलिपल्ट बिहान भोरकाघाटको अघ्र्य दिँदासम्म व्रतालु र परिवारजन घाटमै छठी गीत गाउँदै जाग्राम बस्ने गर्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad