समाज


भारतीयको लापरबाहीले पर्साका १४ किसानको घर, गोठ, अन्नबाली र फार्म जल्यो

भारतीयको लापरबाहीले पर्साका १४ किसानको घर, गोठ, अन्नबाली र फार्म जल्यो

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०८१ आइतबार ९:१४, वीरगन्ज

सीमावर्ती भारतको गहुँखेतबाट फैलिएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ। 

भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले भलमहियाका १५ किसानको पाकेको गुहँ, पराल, कुखुरा फार्म र फुसको घरलगायत धन सम्पत्ति जलेको हो। आगलागीबाट किसानको १२ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ।

छिपहरमाई गाउँपालिका–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवले भारतीय भूमिबाट सल्किएका आगोका कारण नेपालका १५ किसानको भित्र्याउने अवस्थाको बाली नष्ट भएको बताए। 

‘भारतीय भूमिमा गहुँको ठुटोमा लगाएको आगो अनियन्त्रित हुँदा आएर नेपालको भूमिमा  खेतीबाली तथा फुसको घरमा क्षति पुर्याएको छ’, उनले भने, ‘भारतीयको सानो असावधानीले हाम्रा किसान ठूलो क्षति भोग्न बाध्य भएका छन्।’

जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले नेपाली भूमिमा आगो सल्किएको थाहा पाउनेबित्तिकै  सबै निकायको समन्वयमा तीन घण्टाभित्रै आगो निभाउन सम्भव भएको बताए। 

प्रहरी चौकी मिर्जापुर, इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली, स्थानीय तथा वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरीया नगरपालिकाको दमकल, विपद् व्यवस्थापन गुुल्म पर्साको दमकलको सहयोगमा आगो पूर्ण रूपमा निभाइएको प्रहरीले जनाएको छ।

आगजनीको कारण छिपहरमाई गाउँपालिका–१ भलमहियाका मलबोद यादवले सञ्चालन गर्दै आएको ओमपाथीभारा पशुपक्षी फार्म जलेर नष्ट भएको छ। 

सो फार्ममा रहेको २५ क्विन्टल दाना र फुसको घरसहित कुखुरा जलेर नष्ट हुँदा रु चार लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। 

आगजनीले  सोही ठाउँका किसान किसनदेव हजराको फुसको घर, २० क्विन्टल गहुँ, लत्ताकपडा र भाडावर्तन गरेर रु दुई लाख ८० हजार बराबरको अन्नबाली तथा सामान नष्ट भएको प्रहरीले जनाएको छ।

आगोले राजु यादवको ३३ कठ्ठामा रहेको गहुँ, पराल गरी रु एक लाख बराबरको अन्नबाली नष्ट भएको छ । चेतमन राउत अहिरको पनि छ कठ्ठामा रहेको गहुँ बाली जलेको छ। सोही ठाउँका उपेन्द्र यादव र हाकिम यादवको पनि आठ–आठ कठ्ठामा रहेको गहुँबाली नष्ट भएको छ। 

त्यसैगरी किसान ताराचन्द्र साह तेलीको ३० कठ्ठामा रहेको गहुँ र पराल गरी रु एक लाख २० हजार मूल्यको अन्नबाली जलेर क्षति भएको छ । भिखरी राउत अहिरको पराल जल्दा रु ३० हजारको क्षति भएको छ। 

आगजनी भएर वीरेन्द्र यादवको फुसको गोठसहित १० क्विन्टल गहुँसहित ८० हजार बराबरको क्षति भएको छ । त्यसैगरी साहेब राउत र जुगुल यादवको पराल जल्दा जनही रु २० हजारको क्षति भएको छ। 

त्यसैगरी विश्वनाथ यादवको पराल जल्दा रु ८० हजार र मुनिल यादबको १० कठ्ठामा रहेको गँहुबाली जल्दा रु ८० हजारको क्षति भएको छ। त्यसैगरी अर्जुन यादवको पनि १० कठ्ठामा रहेको गहुँबाली आगजनीकै कारणले जल्दा रु ५० हजारको क्षति भएको छ। 

त्यस्तै सोही ठाउँका किशुनदेव यादवको तीन कठ्ठाको गहुँ बालीमा क्षति हुँदा रु २० हजारको क्षति भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .