रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेल्दै गरेको अवस्थामा १९ जना पक्राउ परेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले मंगलबार राति आकस्मिक अनुगमनका क्रममा उनीहरू पक्राउ परेका हुन्।
सिद्धार्थनगर नगरपालिका–१० मा रहेको ‘रोयल कालिङ्गा क्यासिनो’मा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नगद तथा अन्य सामग्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यक्रम रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद चन्दले जानकारी दिए।
उनका अनुसार सोही क्रममा जुवा खेलाउने कार्यमा संलग्न क्यासिनोका चारजना व्यवस्थापकसमेत पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जुवा खेलाउने कार्यमा संलग्न ४ जना र जुवा खेल्दै गरेका १५ जना गरी कुल १९ जना पक्राउ परेका हुन्। उनीहरूबाट नगद ९५ हजार ५ सय रुपैयाँ, १७ थान मोबाइल सेट र २०० थान क्यासिनो क्वाइन बरामद गरिएको छ।
जुवा खेलाउने कार्यमा संलग्नमध्ये रुपन्देहीको सिद्धार्थनगर–६ गल्लामण्डीका २२ वर्षका अभय कुमार गुप्ता, सिद्धार्थनगर–२ का २६ वर्षका सुशान्त अधिकारी, ओमसतिया गाउँपालिका–२ का २९ वर्षका निक्षेंद नेपाल र सिद्धार्थनगर–१३ का २८ वर्षका संजय शाक्य रहेका छन्।
यस्तै जुवा खेल्नेहरूमा काठमाडौँको चन्द्रागिरी–१३ का ५० वर्षका जिवन थापा, रुपन्देहीको देवदह–५ खैरनीका ३२ वर्षका आकाश गुप्ता र ३३ वर्षकी सुनारी मगर, गुल्मीको रेसुङ्गा–६ का ४२ वर्षका नेत्र पोख्रेल, रुपन्देहीको कोटहीमाई–३ का २९ वर्षका अब्दुल कलाम जोलहा, सिद्धार्थनगर–९ का ५८ वर्षका अभिषेक शर्मा, तिलोत्तमा–१५ का ४४ वर्षका शिव पाण्डे पक्राउ परे।
यस्तै ललितपुर–५ का ५० वर्षका बाबुराजा महर्जन, सैनामैना–४ का ३४ वर्षका रोहन बिक भनिने तिल बहादुर बिक, पर्साको वीरगञ्ज–७ का ४४ वर्षका जंग कुमार अग्रवाल, मायादेवी–५ का २८ वर्षका निरज गुप्ता, २१ वर्षका सुरज जयसवाल र १८ वर्षका रमेश यादव, तिलोत्तमा–६ का ३८ वर्षका निर्मल बस्याल तथा सैनामैना–४ का ३० वर्षका भरत थापा समेत पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूबाट नगद ९५ हजार ५ सय रुपैयाँ, १७ थान मोबाइल सेट तथा २०० थान क्यासिनो क्वाइन बरामद गरेको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने पक्राउ परेका सबैमाथि जुवा सम्बन्धी कसुरमा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
Shares

प्रतिक्रिया