समाज


कोशी टप्पुलाई प्रदेश सरकारको जिम्मा लगाउन मुख्यमन्त्रीको माग

कोशी टप्पुलाई प्रदेश सरकारको जिम्मा लगाउन मुख्यमन्त्रीको माग

नेपालखबर
जेठ ६, २०८३ बुधबार १८:४२, हेटौंडा

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी टप्पु वन्यजन्तु आरक्षको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेका छन्। 

बुधबार सुनसरीको लौकी बजारमा आयोजित नवनिर्मित सिटी हलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी टप्पुबारे प्रदेश सरकारको धारण सार्वजनिक गरेका हुन्। राष्ट्रपतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रचुर पर्यटकीय सम्भावना भएर पनि संघीय सरकारको मातहतमा रहँदा कोसी टप्पुको अपेक्षित विकास र प्रवर्द्धन हुन नसकेको गुनासो गरे।

‘कोसी टप्पु वन्यजन्तु आरक्ष राष्ट्रकै एउटा महत्त्वपूर्ण र अद्वितीय प्राकृतिक सम्पदा हो, तर हाल यसलाई पर्यटकीय गन्तव्यका रूपमा जति मात्रामा विकास गर्नुपर्ने थियो, त्यो हुन सकिरहेको छैन,’ मुख्यमन्त्री कार्कीले भने, ‘मैले यसअघि पनि प्रदेश सरकारको तर्फबाट संघीय सरकारसँग यो माग राखेको थिएँ र अहिले पुनः सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

यदि केन्द्र सरकारले कोसी टप्पुको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी कोसी प्रदेश सरकारलाई दिएमा आवश्यक थप भौतिक संरचनाको विकास गर्ने उनले  प्रतिबद्धता जनाए। आरक्षको जैविक विविधता र महत्त्वपूर्ण क्षेत्रको पूर्ण संरक्षण गर्दै यसलाई मुलुककै एक नमूना र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउने योजना प्रदेश सरकारसँग रहेको उनले दाबी थियो।

​सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा अवस्थित कोसी टप्पु आरक्ष विशेषगरी दुर्लभ अर्ना र विभिन्न प्रजातिका चराचुरुङ्गीका लागि विश्व प्रसिद्ध मानिन्छ। यसको वृहत्तर विकास र स्थानीय रैथाने समुदायको हितका लागि समेत प्रदेश सरकारको प्रत्यक्ष उपस्थिति र व्यवस्थापन आवश्यक भइसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad