कोसी प्रदेशमा बाढीपहिरो र डुबानबाट ठूलो धनजनको क्षति भएको छ। विगत तीन दिनदेखि परेको निरन्तर वर्षाबाट सिर्जित बाढीपहिरोको कारण ४४ जनाको मृत्यु भएको छ भने हजारौँ परिवार विस्थापित भएका छन्।
अविरल वर्षाका कारण सबैभन्दा बढी क्षति इलाममा भएको छ। इलाममा पहिरोमा पुरिएर ७ जना बालबालिकासहित ३७ जनाको मृत्यु भएको छ।
त्यस्तै मोरङमा एकजना, सुनसरीमा एकजना, उदयपुरमा दुई जना, खोटाङमा एकजनासहित मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रहरीका अनुसार बाढीपहिरोको कारण १४ स्थानमा अहिले पनि सडक अवरुद्ध छ। मेची राजमार्ग अन्तर्गत इलाम र सुनसरीको एकएक ठाउँ, धनकुटाका तीन ठाउँ, भोजपुर र सङ्खुवासभाका दुई(दुई ठाउँ, उदयपुरको चार ठाउँ र ओखलढुङ्गाको एक ठाउँमा गरी १४ ठाउँमा सडक अवरुद्ध भएको प्रहरीको तथ्याङ्क छ।
कोसीका जिल्लामा थुप्रै घरपरिवार पहिरो र डुबानका कारण विस्थापित भएका छन्।
झापा जिल्लामा ४७५ घर डुबानमा रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीको तथ्याङ्क अनुसार झापामा ५ हजार ४८१ घर विस्थापित भएका छन्। बाढी र डुबानबाट २५ हजार २३१ जना प्रभावित भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
त्यस्तै मोरङमा ३५० जनाको उद्धार गरिएको छ। मोरङ जिल्लामा मात्रै ३८६ घरका १५६८ जना प्रभावित भएका छन्। सुनसरीमा ४६ घरका १३२ जना, धनकुटामा ६ घरका १५ जना र उदयपुरमा ३ घरका ३५ जना प्रभावित भएका छन् भने सोलुखुम्बुमा ३ घर परिवार विस्थापित भएका छन्।
पछिल्लो तथ्याङ्क अनुसार कोसी प्रदेशमा ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुब कुमार श्रेष्ठले जानकारी दिए।
उनीहरूलाई विभिन्न स्थानमा राख्ने काम भएको प्रहरीले जनाएको छ। झापा, मोरङ, सुनसरी बाहेक कोसीका पहाडी जिल्लामा अझै मौसम राम्ररी खुल्न सकेको छैन।
Shares

प्रतिक्रिया