समाज


मोरङमा शिकारीले गोली हानेर मारे हात्ती, यस्तो हुन्छ हात्ती मार्नेलाई सजाय

मोरङमा शिकारीले गोली हानेर मारे हात्ती, यस्तो हुन्छ हात्ती मार्नेलाई सजाय

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८० मंगलबार ५:५८, मोरङ

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायिक वनमा शिकारीले गोली हानेर एक जङ्गली हात्ती मारेको पाइएको छ। स्थानीय मुनालझोडास्थित जनजागरण सामुदायिक वनमा सोमबार हात्ती मृत अवस्थामा फेला परेको हो।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले हात्तीको शवपरीक्षणपछि शरीरमा गोली भेटिएको बताए। 

‘यस बारेमा थप अनुसन्धान भइरहेको छ’, डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भने, ‘दोषी पत्ता लागेको खण्डमा राष्ट्रिय वन्यजन्तु संरक्षण ऐनअनुसार १५ वर्ष जेल साथै रु १० लाखसम्म जरिवाना हुनेछ।’

आफूहरू घटनास्थलमा पुगेर कोशीटप्पु वन्यजन्तु आरक्षबाट भेटेरिनरी चिकित्साद्वारा शवपरीक्षण गराएपछि हात्तीको दाहसंस्कार गरिएको प्रमुख घिमिरेले उल्लेख गरे । प्रहरी र वनको टोलीले घटनामा संलग्नको खोजी सुरु गरेको घिमिरेले जानकारी दिए।

सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले गोली हानेर मारिएको हात्तीको पुच्छर काटिएको बताए । उनले हात्तीलाई गोली हानेर मारेपछि शिकारीले पुच्छर काटेर लगेको बताए।

सहायक वन अधिकृत माझीले हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल भएको जानकारी दिए । भाले हात्ती लगभग १० देखि १२ वर्षसम्मको हुनसक्ने अनुमान गरिएको छ। घटनास्थल आसपासमा बिहान बन्दुक पड्किएको आवाज सुनेको जानकारी स्थानीयले दिएका छन्।

घटनास्थल नजिकै सामुदायिक वनको नर्सरी रहेको छ । नर्सरीभित्र रहेका बेला हात्तीमाथि गोली प्रहार भएको  अनुमान छ। 

गोली लागेपछि घस्रिँदै र रन्थनिँदै तारजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटोमा आइपुगेपछि रगत बान्ता गरेर ढलेको पाइएको सहायक वन अधिकृत माझीले उल्लेख गरे । चोरी सिकारीमा संलग्नले हात्ती मारेको आशङ्का छ।

भारतबाट नेपाल प्रवेश गरेका जङ्गली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए । उनले सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरिरहेको उल्लेख गरे।

पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हूल देखिने गरेको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्‍याउने गरिरहेको छ। 

हात्तीको आक्रमणबाट विगत केही महिनायता झापामा पाँच, मोरङ र सुनसरीमा एक एक गरेर सातजनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। 

यसअघि गएको मंसिर २८ गते झापाको बाह्रदशी गाउँपालिका(१ स्थित बागमतामा एउटा जङ्गली हात्ती मृत फेला परेको थियो। विगत केही समययता तराई मधेशका जिल्लामा जंगली हात्ती र मानिसबीच द्वन्द्व बढ्दै गएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad