समाज


त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा

नेपालखबर
असार १७, २०८३ बुधबार १८:१६, काठमाडौँ

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। 

त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले थापालाई त्रिवि सेवा आयोग अध्यक्ष नियुक्त गरेका हुन्। सरकारले अध्यादेश ल्याएसँगै त्रिवि सेवा आयोगका अध्यक्ष लगायत पदाधिकारी बर्खास्त भएका थिए। 

शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन्। 

उनी विवेकशील साझा पार्टीमा पनि आवद्ध थिए। उनी २०७४ सालमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए। 

थापा आर्किटेक्ट इन्जिनियर हुन्। शहरी विकास, शिक्षा, पर्यटनलगायतका मन्त्रालयमा सचिवको जिम्मेवारी निभाइसकेका थापाले शहरी योजनामा स्नातकोत्तर गरेका छन्। सचिवबाट अवकास पाएपछि उन बागमती सरसफाइ अभियानमा सक्रिय भएका थिए। 

त्यस्तै, थापा २०३१ सालको एसएलसी बोर्ड टपर हुन्। कलकत्ता विश्वविद्यालयबाट आर्किटेक्ट इन्जिनियरिङ पढेका उनले दिल्ली स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरबाट अर्बन प्लानिङमा मास्टर्स गरेका छन्। 

अर्बन प्लानिङको अध्ययनका लागि उनी एक वर्ष अमेरिकामै बसेका थिए। व्यवस्थापन र प्रशासनसम्बन्धी विभिन्न देशबाट तालिम लिएका थापा आवास नीतिका विज्ञ पनि हुन्। 

भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा काम गरेका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा शहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन्। 

त्यस्तै, प्रधानमन्त्री शाहले त्रिवि सेवा आयोगको सदस्यमा प्रा.डा. रेजिना मास्केलाई नियुक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad