हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक युवतीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्कोमा पुरिँदा स्थानीय २३ वर्षीया सुवित्रा विकको मृत्यु भएको हो।
शनिबार निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएकी विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए।
सोही घटनामा परी घाइते भएका पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा बाजुराको जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका–४ का अन्दाजी २२ वर्षीया शर्मिला विक, सिमकोट गाउँपालिका–४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन्। उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया