समाज


मुस्ताङमा हिउँ चितुवा अध्ययन, उच्चलेकमा १५ थान क्यामेरा जडान

मुस्ताङमा हिउँ चितुवा अध्ययन, उच्चलेकमा १५ थान क्यामेरा जडान

नेपालखबर
मंसिर २२, २०८२ सोमबार ८:२१, मुस्ताङ

हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको संख्या पत्ता लगाउन अध्ययन सुरु गरिएको छ।  बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेकमा हिउँ चितुवा संख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो।

बायोकोर्स नेपाल र एक्याप मिलेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्चलेकमा हिउँ चितुवाको संख्या एकीन गर्न, हिउँ चितुवाको आहारा प्रजातीको अवस्था र मानव र हिउँ चितुवा बीचको द्वन्द्वको अवस्था पहिल्याउन र जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले क्यामेरा ट्ययापिङ सुरु गरिएको बायोकोस नेपालका  फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार गत हप्तादेखि वारागुङ मुक्तिक्षेत्रको झोङ,पुडाक, छेङ्गुर,थोरङ्फेदी, फल्याक,धार्काजुङ र मुस्ताङ—डोल्पा सडकको उच्चलेकमा १५ थान क्यामेरा जडान गरिएको छ। आजदेखि घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ,मार्फा र चिमाङ गाउँको उच्चलेकमा हिउँ चितुवा ट्यापिङका लागि थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको उनले जानकारी दिए।

यहाँका उच्चलेकमा हिउँ चितुवाको विस्तृत अध्ययन अनुसन्धानका गर्न बायोकोसका प्रतिनिधि बायोलोजिस्ट  गुरुङ र असिस्टेन प्रवीन लामा क्यामेरा जडानकार्यमा खटिएका छन्। यसैगरी एक्याप जोमसोमबाट प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली खटिएका छन्। बायोकोस र एक्यापका प्राविधिक टोलीले यहाँका उच्चलेकमा हिउँ चितुवाको सम्भावित बासस्थान क्षेत्रमा पुगेर क्यामेरा जडान गरेका हुुन्।

यहाँका सम्भावित हिउँ चितुवा बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्यापिङ क्यामेरा दुई महिनासम्म लेकमा राखिने छन्। कायोकोसका प्रतिनिधि वायोलोजिस्ट गुरुङले दुई महिनापछि उच्चलेकमा राखिएका क्यामेराको डाटा सर्वेक्षण गरिने जानकारी दिए।

‘दुई महिनापछि क्यामेरा झिकेर ल्याउँछौँ, सफ्टवेयर अपडेट गरी हिउँ चितुवाको विस्तृत विवरण सङ्कलन हुन्छ,’  गुरुङले भने, ‘क्यामेरामा कैद भएका डाटा सबै एक्यापलाई नै हस्तान्तरण हुन्छ, हामीले हिउँ चितुवाको एकीन मात्रै गछौंँ।’

बायोकोस नेपालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको विभिन्न क्षेत्रमा हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्यापिङ लगायतका कार्य गर्दैआइरहेको प्रतिनिधि गुरुङको भनाइ छ। मुख्य रुपमा नाउर अध्ययनका लागि कार्य गरिने भए पनि बायोकोर्सले त्यसको साथसाथैमा हिउँ चितुवाकोसमेत अध्ययन गर्ने गरेको जनाएको छ।

सन् २०२२ देखि लगातार मनाङमा चार वर्षसम्म निरन्तर हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्ययापिङ गर्ने गरिएकोमा यसपालि मुस्ताङमा यसप्रकारको कार्यक्रम पहिलो भएको बायोलोजिस्ट गुरुङले जानकारी दिए।

यसैगरी माथिल्लो मुस्ताङमा पनि हिउँ चितुवासम्बन्धी विद्यावारिधि एक विद्यार्थीले क्यामेरा ट्ययापिङमार्फत हिउँको अध्ययन सुरु गरेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए।

मुस्ताङमा पटक-पटक हिउँ चितुवा अध्ययनका लागि क्यामेरा ट्ययापिङ लगायतका काम भए पनि हालसम्म कतिको संख्यामा हिउँ चितुवा छन् भन्ने तथ्य एकीन हुन सकिरहेको छैन।

पछिल्लो समय मुस्ताङमा हिउँ चितुवा र मानव बीचको द्वन्द्व बढेको देखिन्छ। हिउँ चितुवा उच्चलेक छाडेर सडक र बस्तीमा पसेर पशुपालकको गोठमै पसेर पशुचौपाया लगायतलाई क्षति पुर्याउने घटना दोहोरिरहेका छन्।

पछिल्लो समय जलवायु परिवर्तनका कारण उच्चलेकमा चरनक्षेत्रमा घाँस पलाउन छाडेको र पानीका स्रोत सुक्दै जान थालेपछि हिउँ चितुवाको आहारा नाउर खोला र बस्तीसम्म झर्ने गरेको पाइएको छ। हिउँ चितुवा नाउर लगायतका आहारा पछ्याउँदै खोला र बस्तीमा झर्दा मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेको हो।

यहाँ हिउँ चितुवाको संरक्षण र मानव बीचको सहअस्तित्व निर्माण गर्नसमेत चुनौती बढ्दै गइरहेको छ। यसैगरी कम उचाइको क्षेत्रमा रहने चितुवा (कमन लियापार्ट) पनि तापक्रम वृद्धि हुँदै जाँदा माथिमाथि बासस्थान सार्ने लगायतका घटना पनि देखिन थालेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad