समाज


लेकमा बढ्यो जाडो, बेँसी झरे भेडी गोठाला

लेकमा बढ्यो जाडो, बेँसी झरे भेडी गोठाला

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १५:१८, गाेरखा

उधौली लागेसँगै लेकका गोठ उधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन्। गाेरखामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिए ।

चुमनुब्री–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेँडा पालन हुने गाउँ हो। यहाँबाट दैनिक जगत हुँदै लावालस्कर लागेर भेँडा गोरखा, धादिङ, लमजुङका बेँसीतिर लैजान थालिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताए।

‘बुधार मात्रै ३०० जति भेँडा तल झारेका थिए । आज तीन जना गोठालाका ३४० वटा भेँडा एकैपटक लावालस्कर लाएर तल झारिरहेका छन्’, उनले भने, ‘गोठालाहरू कुकुरसहित टोली बनाएर हिँड्छन् । बाटोबाटो भेँडा बेच्दै गुजारा चलाउँदै वैशाख लागेपछि नबिकेका भेँडाको बथान लिएर गाउँ फर्कन्छन्।’

पाङसिङका १५० घरधुरीमध्ये करिब ७० घरका किसानले भेँडाबाख्रा पालन गरेका वडासदस्य गुरुङले जानकारी दिए।

‘भेँडाबाख्रा लेकको गोठबाट पाङसिङ गाउँमा झार्न थालेको एक महिना भयो । अहिले पाङसिङबाट तल झार्न थालिएको छ’, उनले भने, ‘यहाँबाट खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लमजुङतिर झारिन्छ । कोही गोठालाले आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म झार्ने चलन छ।’

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार चुमनुब्रीमा १६ हजार ५०० भेँडा र आठ हजार ५०० बाख्रापालन गरिन्छ। त्यस्तै छ हजार ५०० याक तथा चौरी पालन हुँदै आएको केन्द्रका प्रमुख अनन्त कोइरालाले जानकारी दिए। लेकबाट बेँसी झार्ने पनि मौलिक परम्परा छ।

‘लेकको गोठबाट बेँसी झार्ने बेला राम्रो बार हेरेर सुरु गरिन्छ । लेकको गोठबाट पनि एकै दिनमा बेँसी झार्दैनन्। हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइपुर्‍याउँछन्’, पाङसिङका विकास गुरुङले भने, ‘गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजान चाँही विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ।’

अहिले धमाधम गाउँबाट जगत, तातोपानी, खोर्ला, माछाखोला, आरुघाटतिर भेँडा लैजान थालिएको उनले बताए। ‘अहिले बेँसी झारिएका भेँडाबाख्रा आगामी जेठ दोस्रो साता उभौली लागेपछि लेकको गोठतिर पुर्‍याउन तालिन्छ’, उनले भने।

‘शरीरमा बाक्लो रौँ हुने भएकाले याक चाँही लेकमा छोड्छन् । पातलो रौँ हुने भएकाले चौँरी मात्र बेँसी झार्ने चलन छ’, चुमनुब्री–७ का वडाध्यक्ष टाँसी दोर्जे लामाले भने, ‘बेँसी झार्दा पनि र पछि जेठको दोस्रो सातातिर लेक लैजाँदा पनि लामाले साइत हेरेर विधि पुर्‍याएपछि लैजाने चलन छ।’

भेँडाबाख्रा पालन गर्ने किसान बढी भएकाले चुमनुब्री–३ मा गोठालालाई प्रोत्साहन कार्यक्रम लागू गरिएको छ।

‘गोठालालाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत, खानेपानीको व्यवस्था, बस्न त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गरेका छौँ”, चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङले भने, ‘गाउँपालिकाको ८० प्रतिशत र गोठालाको २० प्रतिशत लागत साझेदारीमा यो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ।’

पालिकाले किसानलाई प्रोत्साहन दिन कार्यक्रम सञ्चालन गरे पनि बर्सेनि भेँडाबाख्रा पालन गर्ने किसानको सङ्ख्या घटिरहेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad