ad ad

समाज


विदेश गएका पति फर्केनन्, यता सेतीले बास पनि बगायो

विदेश गएका पति फर्केनन्, यता सेतीले बास पनि बगायो

नेपालखबर
साउन १९, २०८१ शनिबार १०:११, कास्की

कास्कीकी २७ वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइ दिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै थिइन्। उनको एक मात्र साहारा ३१ वर्षीय श्रीमान् प्रेम शेर्पा दुई वर्षदेखि बेखबर छन्। 

‘छोरी पेटमै हुँदा रोजगारीका लागि साउदी अरब जानुभएको हो। तर गएकै समयदेखि फोन सम्पर्क छैन, सुनेकी छु विदेशमा अर्की श्रीमती लिएर बस्नुभएको छ रे’, निग्माले भनिन्, ‘मजदुरी गरेर छोरी पाल्दै आएकी थिएँ, भएको एउटा बास पनि सेती बाढीले बगाइदियो, भाग्यले ज्यान जोगायौ‌ँ, अब छोरी बाहेक मेरो कोही रहेन।’ 

सेती नदीमा गत असार २२ गते आएको बाढीले पोखरा–१४ स्थित गस्ती टोलका निग्मासहित ३९  परिवारको घर बगाइदिएको छ। ती परिवारको २५ दिनदेखि त्रिपालमुनिको बास छ। तीमध्ये केही परिवार आफन्तकहाँ बस्दै आएका छन्। 

‘पतिले त छाड्नु भयो, बस्दै गरेको बास पनि बगायो कस्तो दुःख आइलाग्यो’, शेर्पाले भनिन्, ‘मजदुरी गरेर पेट पाल्दै आएकी थिएँ, त्यो पनि अहिले छैन, बास पनि छैन, डेढ वर्षकी छोरी लिएर त्रिपालमुनि बस्नुपरेको छ, वर्षा हुँदा सुत्ने र खाना पकाउने ठाउँमा पोखरी बन्छ’, शेर्पाले भनिन्, ‘राति बादल मडारिँदा बाढीले बगाउने हो कि भन्ने डर लागिरहन्छ, यस्तो दुःख मैले कहिलेसम्म भोग्नुपर्ने हो?’ 

प्रेमसँग प्रेम विवाह गरेकी निग्माले भनिन्, ‘विवाह गर्दा सुखसँग बाँच्ने सपना देखेकी थिएँ। तर विवाह गरेको दुई–तीन वर्षमै वर्षमै यस्तो दुःख भोग्नुपर्‍यो।’ 

धादिङबाट पोखरा आएर बसेकी निग्माको प्रेमसँग पोखरामा भेट भएपछि दुवैबीच प्रेम विवाह भएको थियो। निग्माका वृद्ध बुवा राम श्रेष्ठ पनि सोही टोलमा ३० वर्षदेखि बस्दै आएका छन्। 

‘बिहान बेलुकाको खाना विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोगबाट चल्दै आएको छ, त्रिपाल पनि संस्थाले नै उपलब्ध गराएको हो, त्रिपाल राखेर बस्दै गरेको जग्गा पनि सरकारको कृषि कार्यालयअन्तर्गतको रहेको र त्यो कार्यालयले त्यहाँबाट हट्न भनेको छ, अब कहाँ गएर बस्ने हो, थाहाँ छैन’, शेर्पाले भनिन्। जग्गा पाइहाले पनि घर बनाउन सक्ने उनको अवस्था छैन। 

शेर्पा मात्र हैन यहाँका ३८ परिवारको दुःख उस्तै छ । गस्ती टोलकै २९ वर्षीया यमकुमारी मगरको पीडा पनि कम्ता छैन । सेती नदीको बाढी घरमै आउन थालेपछि लत्ताकपडा र भाँडाकुँडा लिएर भाग्दै सुरक्षित ठाउँमा आएको पाँच जनाको परिवार पनि त्रिपालमुनि बस्दै आएको छ । मजदुरी गरेर खाने यो परिवारलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल छ। 

‘पति मजदुरी गर्नु हुन्छ। मैले तीन बालबच्चाको स्याहारसुसार गरेर बस्दै आएकी थिए ।  तर ३० वर्षदेखि बस्दै आएको घर बाढीले बगाइ दिएपछि बिचल्ली भएको छ, पतिले मजदुरी गर्न जान पाउनु भएको छैन, सधै‌ सङ्घसंस्थाको सहयोग पाइँदैन’, मगरले भनिन्, ‘बाससम्मको व्यवस्था भयो भने मजदुरी गरेर खान्थ्यौं।’

बाढीबाट विस्थापितमध्ये सुस्मा श्रेष्ठ तामाङकै घरमा शरण लिएर बस्दै आएकी छन् । सुस्मा ६ महिना र दुई वर्षका दुई छोरा लिएर तामाङको घरमा शरण लिएर बसेकी छन् । विस्थापित ३९ परिवारलाई त्रिपालको व्यवस्था ‘असल छिमेकी’ संस्थाले गराएको हो । उक्त टोलका अधिकांश परिवार बालुवा बोक्ने काम गर्दै आएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .