समाज


चालक बुढाथोकी स्टेयरिङमै ढले, तर बचाए १४ यात्रुको ज्यान

चालक बुढाथोकी स्टेयरिङमै ढले, तर बचाए १४ यात्रुको ज्यान

सुनिता विष्ट
असार १८, २०८३ बिहिबार १४:१७, हेटौँडा

बुधबार (असार १७ गते) दिउँसो ४ बजेको समय। वीरगञ्जको लागि नारायणगढबाट ईभी भ्यान छुट्यो। १४ यात्रु बोकेर गन्तव्यतर्फ अघि बढिरहेको बागमती प्रदेश ०३–००१ ज ११२४ नम्बरको ईभी भ्यान टिकौली पुल नजिक आइपुगेपछि चालक चन्द्रबहादुर बुढाथोकीले एक हातले गाडी चलाउँदै पानी खाए। 

पानी खाएको केही मिनेटमै चन्द्रबहादुरले असहज भएको महशुस गर्दै गाडीको गति सन्तुलनमा ल्याए। 

गाडीमा सवार यात्रुहरुले चन्द्रबहादुरको हाउभाउलाई त्यति वास्ता गरेनन्। गाडीको गति कम हुँदाहुँदै एक्कासी रोकियो। चितवनको रत्ननगर नगरपालिका–९ स्थित कृष्ण मन्दिर प्रहरी बिट नजिकको सडकमा उनले गाडी साइड लगाएर रोके। जब, गाडी रोकिने बित्तिकै ५५ वर्षीय चालक चन्द्रबहादुरले हिक्क हिक्क गर्न थाले, तब यात्रुहरुले चालक बिरामी भएको थाहा पाए। 

गाडी रोक्नेबेलासम्म उनको आँखा बन्द भैसकेको थियो। गाडी रोकिएको केहीबेरमै स्टेरिङमै उनी बेहोस भए। 

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी उनलाई तत्काल कृष्ण मन्दिर प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले उद्धार गरी एम्बुलेन्समार्फत बकुलहर अस्पताल, टाँडी पु¥यायो। 

तर, चिकित्सकले स्वास्थ्य परीक्षणपछि अपराह्न ४ः५० बजे उनलाई मृत घोषणा गरे।

प्रहरीका अनुसार बुढाथोकीले समयमै सवारी सडक किनारमा रोकेकाले सम्भावित दुर्घटना टरेको देखिन्छ। उनी बेहोस हुँदा सोही गाडीमा सवार १४ जनाको ज्यान बचाउन सक्नुले उनी साहसी चालक रहेको प्रहरीले जनाएको छ। 

चालकले सवारी नियन्त्रणबाहिर जान नदिई सुरक्षित रूपमा रोकेपछि यात्रुहरू भने सकुशल रहेका थिए। 

सोही भ्यानमा सवार दीपक कुमारका अनुसार शरीरमा एक्कासी समस्या आए पनि चालकले संयमता पूर्वक गाडीको नियन्त्रण गरेको बताउँछन्। 

‘अगाडी एउटा मन्दिर देखिएको थियो। मलाई लाग्थ्यो त्यहीँ दर्शन गर्नलाई गाडी स्लो गरियो होला,’ उनले भने, ‘गाडी रोकेपछि अगाडी सिटमा बस्ने मान्छेले ल गुरुजीलाई के भयो भनेर कराउन थालेपछि हामीले हेर्यौँ। मुखबाट र्‍याल झरिरहेको थियो। पछि यहीँको प्रहरी आएर अस्पताल लगिहाले।’ 

घटनापछि प्रहरीले यात्रुहरूको व्यवस्थापन गर्दै उनीहरूलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाएको जनाएको छ।

उनले क्षणभरका लागि पनि नियन्त्रण गुमाएको भए गाडी पल्टिन सक्थ्यो र ठूलो मानवीय क्षति निम्तिने जोखिम थियो। तर, चालक बुढाथोकीले अन्तिम क्षणसम्म धैर्यता, संयमता र साहस प्रदर्शन गर्दै सवारीसाधनलाई नियन्त्रणमा राख्न सफल भए। उनकै सुझबुझका कारण हुन सक्ने ठूलो दुर्घटना टर्‍यो। र सम्भावित मानवीय क्षति हुन पाएन। 

यो घटनाप्रति एमाले नेता सुरेन्द्र पाण्डेले पनि चासो देखाएका छन्। 

सामाजिक सञ्जालमा उनले चालक बुढाथोकीले आफ्नो ज्यान जाँदा पनि १४ यात्रुको ज्यान जोगाएको भन्दै प्रशंसा गरेका छन्। 

‘चितवनको रत्ननगरमा बारा जिल्लाका ५५ बर्षका सवारी चालक चन्द्र बहादुर बुढाथोकीले आफू मृत्युको मुखमा पुग्नै लाग्दा पनि अन्तिम समयसम्म जसरी पिडाकाबिच माइक्रोमा सवार १४ यात्रुलाई वचाउन आफूले अन्तिम  मिनेटसम्म कोशिस गरे र गाडीलाई रोकेर यात्रुहरुलाई वचाउँदै अन्तिम सास लिई विदा भए र अत्यन्त ठुलो जीम्मेवारी प्रस्तुत गरे,’ पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो घटना एकातर्फ मार्मिक त छँदैछ अर्को तर्फ सिंगो सवारी चालकहरुको प्रतिष्ठा उँचो गर्ने घटना पनि बनेको छ। उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली! परिवारजनमा हार्दिक समवेदना!’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad