चितवनको इच्छाकामना गाउँपालिका–६ अन्तर्गत जलविरे नजिक पानीधारा क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिहीबार बिहान करिब ११ः४० बजे अचानक पहिरो खसेपछि सडकमा दुवैतर्फ सवारीसाधनको आवागमन ठप्प भएको हो।
पहिरोका कारण सडकको दुवैतर्फ सयौं साना तथा ठूला सवारीसाधन रोकिएका छन्। राजधानी काठमाडौंलाई पूर्वी तथा पश्चिमी नेपालसँग जोड्ने मुख्य राजमार्ग भएकाले सडक अवरुद्ध हुँदा यात्रु र मालवाहक सवारीसमेत प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट जलबिरे र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ। प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने तथा सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास गरिरहेको उनले जानकारी दिए।
यादवका अनुसार पहिरो हटाउन आवश्यक उपकरण परिचालन गरिएको छ। पहिरो पूर्ण रूपमा हटाएर सडक सुरक्षित भएपछि मात्रै सवारी आवागमन सञ्चालन गरिने उनको भनाइ छ।
प्रहरीले सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म चालकलाई लेन अनुशासन पालना गर्न, अनावश्यक रूपमा सवारी अगाडि बढाउने प्रयास नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेको छ।
साथै, उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन र यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि अनुरोध गरिएको छ।
पहिरो पन्छ्याउन एउटा मेसिन प्रयोग भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
Shares

प्रतिक्रिया