समाज


बेलायतमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु : र्‍यापर स्यामुएलले गरे अपराध स्वीकार

बेलायतमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु : र्‍यापर स्यामुएलले गरे अपराध स्वीकार

ब्रिटिस र्‍यापर क्लार्क स्यामुएल र उनको कारको ठक्करबाट ज्यान गुमाएका नेपाली युविन तामाङ


नेपालखबर
मंसिर २३, २०८२ मंगलबार २०:५०, बेलायत

चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुएलले आफूले चलाएको कारको ठक्करबाट नेपाली युवक युविन तामाङको ज्यान गएको स्वीकार गरेका छन्।

बेलायतको महानगरीय प्रहरी लन्डनले दुर्घटनामा संलग्न गेट्स नामले चर्चित कलाकार स्यामुएलले आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो।

आफ्नो आधिकारिक वेभसाइटमार्फत प्रहरीले भनेको छ, ‘३० माइल प्रतिघण्टा गति निर्धारण गरिएको सडकमा ४१ वर्षीय स्यामुएलले ६० माइलप्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका युविन तामाङलाई ठक्कर दिएका थिए।’

प्रहरीका अनुसार, गत अक्टोबर १८ राति ११:३० बजे (स्थानीय समय) इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी तामाङलाई ठक्कर दिएपछि स्यामुएल घटनास्थलमा नरोकिई भागेका थिए।

ठक्कर दिएको दुई दिनपछि उपचारका क्रममा तामाङको मृत्यु भएको थियो। गत वर्ष सेप्टेम्बरमा बेलायत आएका उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बिएस्सी बिजनेस म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत थिए।

दुर्घटना अनुसन्धानमा संलग्न महानगरीय प्रहरी इन्सपेक्टर मार्क ब्रथवेटले भने, ‘हाम्रो समवेदना युविनको परिवारको साथ छ, यो क्षतिको कुनै पनि हालतमा भरपाई हुन सक्दैन, तर अपराधमा संलग्नता स्वीकार न्याय प्राप्तिको बाटोमा एक महत्त्वपूर्ण कदम हो, यसले युविनको परिवारलाई केही राहत मिल्ने हाम्रो विश्वास छ।’

बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले घटनामा संलग्न व्यक्तिले स्वीकार गर्नु पीडित परिवारको न्यायका लागि सकारात्मक पाटो भएको बताए। तामाङको निधनपछि न्यायका लागि दूतावासले सक्रिय भूमिका खेलिरहेको पनि उनले बताए। 

दुर्घटनापछि भागेका स्यामुएलको वुडफोर्डस्थित घरमा खोजतलास गर्दा प्रहरीले भोलिपल्ट बिहानै उनको नाममा दर्ता र बिमा गरिएको कार क्षतिग्रस्त अवस्थामा फेला परेको थियो।

यसैबीच यहाँको अदालतले स्यामुएललाई आगामी माघ २९ गते (फेब्रुअरी १२) मा सजाय सुनाउने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad