सगरमाथा र बुद्ध जन्मेको देश भनेर कहिलेसम्म चिनाइरहनु पर्ने?

सगरमाथा र बुद्ध जन्मेको देश भनेर कहिलेसम्म चिनाइरहनु पर्ने?

ललित सुब्बा
मंसिर २४, २०८२ बुधबार १३:११, बेलायत

जीवनभरि आफ्नै देशको माटोमा परिवारका साथ दु:ख-सुखमा बस्न, रम्न, खेल्न छोडेर पीडाको भारी बोकी परदेश लाग्न मन लाग्ला र? परिवार-आफन्तसँगको बिछोड, परदेशमा पाएको दु:ख कसलाई कसरी वर्णन गरुँ?

परदेश लागेको पनि २८ पारी गरी २९ वर्ष हुन लाग्यो। मसँगै परिवार र लालाबालालाई पनि विदेशी भूमिमै बन्धक बनाउन पुगेँ। न भाषा न संस्कार न रह्यो देश।

सुदूरपूर्व आदिवासी दश लिम्बुवानमा बाजे जिम्मा सुब्बाको रैकरमा जन्मेको थिएँ। बाजेले बनाएको माटोमा हुर्किएको थिएँ। पुर्खाले बनाएको पाठशालामा पढेको थिएँ। तर, म आज विदेशी बन्न बाध्य भएँ। मलाई विदेशी गुलाम नोकर बनाइयो। मेरो पसिना बेचियो, अस्तित्व बेचियो। म जस्ता हजारौँ बेचिए।

आज आएर बाध्य भई विदेशी हुन पुग्दैगर्दा मेरो निर्दोष छोराछोरी मात्र नभएर हजारौँ छोराछोरी विदेशीको शरणमा विदेशी बन्न बाध्य बने। यो घाउचोट मेरो देशले देखेन, न त भ्रष्ट नेताले देखे। ती भ्रष्ट विदेशमा बस्नेले पठाएको रेमिट्यान्सले ८४ व्यञ्जन खान, आलिसान बङ्गला र अकुत सम्पत्ति जोड्न मस्त बने।

हाम्रो पसिनामा मोज गर्ने संसद्‌ भवन छिर्ने विदेशी दलाल देखिए। देशमा कानुन बनाउन जानेहरू नै कानुन मिच्ने देखिए।

गरिबले तिरेको करबाट भत्ता खानेहरू हो केही न केही त सिक, बुझ। सिंगापुर, मलेसिया, युरोपका नेताबाट सिक।

पार्टीमा राम्रो विचार भएका आशालाग्दा नेता नभएका पनि होइनन् तर बोली कहाँ रोकियो? के वर्षौँदेखि कुहिएको बोरामा राखेको आलुमा अझै पालो कुर्न बाँकी जीवन नै बिताउने हो त? किन महत्त्वाकांक्षी विचार राखेर पार्टीमा विद्रोह गर्न सक्नु हुन्न? 

परिवर्तन चाहने हामी अब परिवर्तित हुन जरुरी छ। पार्टीको पछि हिँड्दा देश परिवर्तन हुन्छ भन्ने हिँड्नु माहाभुल हुने संकेत देखिन्छ। पार्टीको निमित्त परिवार नभनी, देश र जनताको अधिकार दिलाउन बलिदान दिने ती अमर सहिदको रगतमाथि खेलबाड गर्ने दलालहरूलाई नै पक्षपोषण गर्दा धिक्कार लाग्छ।

चीनमा भएको सफल परिवर्तन देखी आफ्नो देशमा पनि सम्भव छ भनेर हिजो माओको सिद्धान्त अनुसरण गरी जनविद्रोह भयो। हजारौँ सहिद र घाइते भए। परिवर्तनको नारा दिने हिजोका ती तुफान, चट्टान, प्रचण्ड, लालध्वज, बिजुली, करेन्ट आदि नामले चिरपरिचितहरू किन बदलिन सकेनन्?

बदलिए त केवल पैसा, स्वार्थ र पदलोलुपताका लागि बदलिए। गरिबीले पिसिएकालाई परिवर्तन सम्भव छ भनेर जनविद्रोह गर्न उस्काउनेहरू आज करोडौँको महलमा, गाडीमा बसेर सर्वहाराको गफ चुस्कीको रसमा दिन्छन्।

विडम्बना त यो छ कि आज ती वीर योद्धा, घाइते, अपाङ्गहरूलाई न सेवा सुविधा र उपचार छ न रोजगारी। ती निर्दोष लडाकुले जिउमा गोली र बन्दुकको छर्रा बोकेर हिँडेको पीडा कसले बुझ्ने? न सरकारले हेर्छ न पार्टीले।

साम्राज्यवादको जरो उखेल्ने फिडेल क्रास्ट्रो, चेग्वरा, राहुल क्रास्ट्रो जस्ता महान् क्रान्तिकारी नेता हाम्रो देशमा जन्मन नसक्नु केको श्राप लागेको हो?

चीन, क्युवाको आजको परिवर्तन, जनताको जीवनस्तर हरेक क्षेत्र हेर्न लायक छ। स्कुल, कलेज, अस्पताल, बाटो सबका सब आधुनिक र वैज्ञानिक तरिकाले बनाइएका छन्।

स्कुल, कलेजमा अध्ययन र अस्पतालमा उपचार नि:शुल्क छ। छिमेकी देश भुटानमा समेत स्वास्थ्य, शिक्षा नि:शुल्क छ।

हाम्रो देशमा नेता नजम्मेको त होइन होला। हामीले परिवर्तन खोजेको हो, कांग्रेस, एमाले, माओवादी खोजेको होइन। जुनै जोगी आए पनि कानै चिरेको झैँ कति हेर्ने? के हामी अझै दर्शक बनेर उनीहरूको हली बनिरहने हो? होइन भने देशको परिवर्तन खोज्नेहरू हो उठ, आगामी चुनावमा पार्टीभन्दा माथि उठेर देश र जनताको मुहार फेर्ने हो भने सम्पूर्ण न्यायप्रेमी, देशप्रेमी एकबद्ध, लामबद्ध बनेर कठोर निर्यण लिने दिन आएको छ।

हामीलाई निर्णायक भोटबाट वञ्चित गरे पनि, हामी विदेशमा रहर होइन करले बसे पनि हाम्रो परिवार, नातागोतालाई पार्टीभन्दा माथि उठेर व्यक्तिलाई चुनौँ भन्ने सन्देश दिन नचुकौँ। 

पार्टीमा बसेर गुलाम बन्नु धिक्कार छ। इतिहास त्यसै बन्दैन, समयमै हिरा फोर्न सक्नु नै महानता हो। नत्र म नेता उ नेता भन्ने दिन गन्न सुरु गरे हुन्छ।

पार्टीमा नराम्रो मात्र भन्न खोजेको कदापि होइन। कतिपय नेता कति सैद्धान्तिक विचार व्यक्त गर्नु हुन्छ। जनताका भावना बोल्नुहुन्छ। मैले मानेका नेतामध्ये वैचारिक, सैद्धान्तिक र महान् विचारकमध्ये डा.बाबुराम भट्टराई, सुदन किराँती, कान्छाराम लामा, डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मा हुन्।

त्यस्तै, रास्वपाका सभापति रवि लामिछाने जो निडर अनि जनताको आवाज उठाउने नेतालाई जबरजस्ती कालकोठरीमा लादिएको छ।

मेरो देशमा छ संसारकै सबभन्दा अग्लो चुचुरो सगरमाथा, भगवान् गौतम बुद्ध जन्मेको देश नेपाल सुन्नुभएको छ? भनेर सोध्नुपरेको छ। चीन, भियतनाम, थाइल्यान्ड, जापान जस्ता बौद्ध धर्मावलम्बी भएको देशमा लुम्बिनी भारतमा पर्छ भनेर भन्छन्। नेपालबारे सोद्धा नेपाल भन्ने देश पनि छ र भनेर उल्टो सोध्छन्!

संसारकै अग्लो चुचुरो, बुद्ध जम्मेको देश, जलासयमा धनी देश भनेर डाँडामा गएर चिच्याउँदै मेरो देश यही हो भनेर सुनाउनुभन्दा अर्को विकल्प रहेन। कसले सुन्ने हाम्रो कारुणिक कथा-व्यथा?

निकै देश घुमेँ। हालमा पनि युरोपमा छु। यहाँ अनुशासन, नियम, कानुन, श्रमभन्दा अरू देखिन्नँ। देशको मुहार फेर्न कानुन, योजना र सक्षम नेता हुनु पर्छ।

देशमा व्यवस्था परिवर्तन भइसकेको छ, अवस्था मात्र नफेरिएको हो। देश बचाउन, अवस्था फेर्न देश तथा विदेशमा रहनुहुने तमाम तपाईँ-हामी विकासप्रेमी, देशप्रेमी उत्तिकै जिम्मेवार बन्न जरुरी छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .