काठमाडौँको सिफल र टोखामा सरकारले जबरजस्ती डोजर लगाएकोमा भन्दै पीडितहरूले आन्दोलनमा जाने बताएका छन्। बुधवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै सुकुम्वासीसँग सम्बन्धित संगठनका नेताहरूले यस्तो बताएका हुन्।
सरकारले संविधान विपरीतको कार्य भन्दै उनले संघर्ष गर्ने चेतावनी दिए। खड्काले देशमा लाखौँ लाख सुकुम्बासी तथा भूमिहीन रहेको र ती सबै विद्रोहमा उत्रिएमा कसैले पनि रोक्न नसक्ने भन्दै सुकुम्वासीमाथि खेलवाड नगर्न चेतावनी दिए। खड्काले आफू राष्ट्रिय भूमि आयोगमा हुँदा १३ लाख ५० हजार भन्दा बढी परिवारको नयाँ निबेदन र ८४ हजार ६ सय परिवारको पुराना आयोगका अधुरा कामहरु सम्पन्न गर्ने निवेदन परेको भन्दै करिब १० लाख ५२ हजार परिवारको निवेदन छानविन र प्रमाणिकरणको प्रक्रियामा रहेको जनाए।
अखिल नेपाल सुकुम्वासी संघको वरिष्ठ उपाध्यक्ष टिकाराम गुरुङले भर्खरै सम्पन्न निर्वाचनपश्चात प्रतिनिधिसभाका सदस्यहरूले शपथसमेत नखाएको र सरकार बनिनसकेको संक्रमणकालीन अवस्थामा सुकुम्वासी वस्तीमा डोजर लगाउनु अमानवीय कार्य भएको बताए। उपाध्यक्ष लिला बहादुर मोक्तान अन्तरिम सरकारले आफू जाँदाजाँदै सुकुम्वासी वस्तीमा डोजर लगाएको कार्यले आफूहरुलाई विद्रोह गर्न बाध्य बनाएको बताए। अर्का उपाध्यक्ष धनस्वर लिम्बुले सुकुम्बासीको वर्गीय हित र बस्ती रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गरे।
संगठनद्वारा जारी प्रेस विज्ञप्ति वाचन गर्दै महासचिव प्रकाश खरेलले सुकुम्वासीको हक, हित र अधिकारका लागि आफूहरुले छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जनाए। मनहोहर बस्तिका सुकुम्बासी अभियान्ता सिवि लामाले सबै बस्तीहरुको रक्षा गर्न सुकुम्वासीहरु एक हुनुपर्ने धारणा राखे।
टोखा नगरपालिका वडा नम्बर ७ दाहालगौंडा बस्तीका पीडित दलबहादुर खड्काले आफूहरु २०५८ सालदेखि सो बस्तीमा बस्तै आएको, सोही ठाउँबाट नागरिकता र मतदाता परिचय पत्रसमेत बनेको, राष्ट्रिय भूमि आयोगमा निवेदन दिई प्रमाणीकरण प्रक्रियमा रहेको आवस्थामा नै एक्कासी डोजर लगाउँदा विल्लिबाठ भएको बताए । खड्काले सुत्केरी, वृद्ध, बालबालिका खुल्ला आकाशमुनी बस्न बाध्य भएको दुखेसो व्यक्त गरे ।
सरकारले सुकुम्वासीको नाममा सार्वजनिक जग्गा हडपेको भन्दै २०८२ फागुन २८ गते काठमाडौँ महानगरपालिका वडा नं. ७ को सिफल र २०८२ चैत्र ९ गते विहानै काठमाडौँ जिल्लाको टोखा नगरपालिका वडा नं. ७ को दाहालगौँडा, धापासीस्थित सुकुम्वासी वस्तीमा बुल्डोजर लगाएको थियो ।
Shares

प्रतिक्रिया