डोल्पाको जगदुल्लामा बाढी गाउँमा पस्दा एक महिलाको मृत्यु भएको छ। गएराति जगदुल्ला गाउँपालिका- ५ गैरीगाउँमा आएको बाढीले बगाउँदा ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो।
बाढीमा परी घाइते भएकी आनन्दीको उद्धार गरी उपचारको क्रममा स्वास्थ्य चौकीमा लैजाँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले नेपालखबरलाई जानकारी दिए।
उक्त बाढीमा परि अन्य छ जना घाइतेसमेत भएका छन्। घाइते हुनेमा सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक १५ वर्षीय निरुता विक, १३ वर्षीय सीता विक र ६५ वर्षीय जस विक छन्।
घाइतेहको जगदुल्लामा रहेको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
घाइतेमध्ये रेउलीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारीपछि प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरेको थियो।
यस्तै, जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जना, नेपाली सेनाको १० जना र सशस्त्र प्रहरीको बल ११ जना बिहानै घटनास्थलतर्फ लागेको छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतका लागि प्रशासनले पहल गरिरहेको जानकारी दिइन्।

Shares

प्रतिक्रिया