हङकङका नेपाली अल्ट्रा ट्रेल रनरहरूले स्थापना गरेको ‘हङकङ नेप्लिज अल्ट्रा ट्रेल एसोसिएसन’ले गत मार्च २२ मा ‘हिमालयन हार्मोनी’ अल्ट्रा ट्रेल रनिङ-२०२६ को पहिलो संस्करणको दौड प्रतियोगिता सम्पन्न गरेको छ।
दौड आइतबार बिहान हङकङको सबैभन्दा अग्लो स्थान ताइमो सान डाँडाको रोटरी पार्कबाट सुरु भएको थियो। ५० र १२ किलोमिटर विधामा प्रतिस्पर्धा गराइएका यी दौड क्रमशः ८ र ९ बजे सुरु भएका थिए।
प्रमुख विधा ५० किमिको पुरुषतर्फ हङकङका होङ तामले निर्धारित दूरी ५ घण्टा २१ मिनेट ४ सेकेन्डमा पूरा गरी प्रथम भए। त्यसैगरी हङकङवासी सन्तोष तामाङले ५ घण्टा ५९ मिनेट ३५ सेकेन्डमा पूरा गरी दोस्रो र हङकङकै टम्मी येउङ तेस्रो भएका थिए।

यसैगरी, महिलातर्फ हङकङकै होङ किउ, किम्मी, भारतकी जुलिमित लेप्चा र फिलिपिन्सकी जेन्नी रोज आपे क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।
१२ किमितर्फ बेलायतका म्याथ्यु क्यारे, फ्रान्सका जेरोमे डे क्लारेन्स र हङकङवासी नेपाली मिलन राई क्रमशः पहिलो, दोस्रो र तेस्रो बने।
५० किमितर्फ पहिलो, दोस्रो र तेस्रोले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरेका थिए। हङकङमा वार्षिक सयौँ ट्रेल रन हुने गर्दछन् र कमै आयोजकले मात्र नगद पुरस्कार दिने गरेका छन्।

प्रतियोगितामा ५० किमितर्फ उमेर समूह १८-३९, ४०-४९ र ५० ओभर थिए भने १२ किमितर्फ १२-१३, १४-१५, १६-१७, १८-३९, ४०-४९ र ५ ओभरका विधा थिए। सबै विधामा जित्नेहरूले ट्रफी प्राप्त गरेका थिए। कटअफ समयभित्र दौड पूरा गर्नेले मेडल प्राप्त गरेका थिए।
प्रतियोगीले सबैभन्दा प्रसिद्ध म्याकलहोज र विल्सन ट्रेलका उकालो-ओरालो पार गर्दै हङकङको प्राकृतिक सुन्दरता हेर्दै र अवलोकन गर्दै दौड पूरा गरेका थिए।
५० किमि र १२ किमिको कटअफ टाइम क्रमशः १४ घण्टा र ४ घण्टा तोकिएको थियो। प्रतियोगितामा दर्जनौँ देशका धावकधाविकाको सहभागिता थियो।

दौडसँगै नेपाली सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धन
यो प्रतियोगितामार्फत डायस्पोरामा रहेर नेपाल, नेपाली संस्कृति, नेपाली पहिचान, पर्यटन प्रवर्द्धन र भाइचारा सम्बन्ध स्थापना गर्ने लक्ष्य अनुरुप प्रतियोगिता सम्पन्न भएको आयोजक संस्थाका सचिव वसन्त आङबुहाङले नेपालखबरलाई बताए।
‘प्रतियोगितास्थलमा नेपाली भेषभूषा, संस्कृति, कला, नृत्य आदि प्रदर्शन गरेर नेपाली पहिचान र नेपाली पर्यटनलाई समेत प्रवर्धन गर्ने हाम्रो लक्ष्य हो,’ आङबुहाङले भने, ‘प्रतियोगिताको नाम हिमालयन हार्मोनी राख्नुको कारण पनि यही हो। दौडमार्फत नै हाम्रो पहिचान, हाम्रो सामर्थ्य विश्वभर फैलाउने हाम्रो उद्देश्य रहेको छ।’
विजेताहरूलाई नेपाली करुवा
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई ट्रफीस्वरुप करुवा प्रदान गरिएको थियो। यसले नेपाली धार्मिक र सांस्कृतिक परम्पराको महत्त्व बोकेको करुवाको प्रवर्धन भएको थियो। करुवा प्राप्त गर्ने विदेशी प्रतियोगीहरू करुवा देखेर आश्चर्य मान्दै त्यसप्रति जिज्ञासु बनेको भेटेरान धावक तथा प्रतियोगिताका प्रमुख कोअर्डिनेटर दिननाथ बगालेले नेपालखबरलाई बताए। उनले जिज्ञासुहरूलाई नेपाली संस्कृतिमा करुवा शुभकर्मका लागि शुभ सङ्केत (साइत)का रूपमा रहेको बताउँदा उनीहरू खुसी हुँदै ट्रफी निकै युनिक भएको प्रतिक्रिया दिएका थिए।

प्रतियोगितासँगै च्यारिटी
प्रतियोगिताका हरेक सहभागीबाट प्राप्त प्रवेश शुल्कबाट ५० हङकङ डलर हङकङबाट सञ्चालित ‘एक्सचेन्ज एन्ड इम्पावर’लाई प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार उक्त संस्थाले नेपाली महिला अल्ट्रा ट्रेल रनरहरूलाई सहयोग गरेबापत उनीहरूको गुन तिर्न त्यसो गरिएको हो।
उक्त संस्थाले नेपालका ग्रामीण महिला र बालबालिका तथा हङकङका विदेशी घरेलु कामदारलाई कार्यशाला, सामाजिक पदयात्रा तथा संरचित प्रशिक्षण दिँदै आएको छ।
Shares

प्रतिक्रिया