यतिबेला काठमाडौँ उपत्यकामा तुवाँलो लागिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज शनिबार बिहान १० बजेयता काठमाडौँ उपत्यकामा तुवाँलो लागिरहेको हो।
‘बिहान १० बजेअघिसम्म चाहिँ काठमाडौँ उपत्यकामा हुस्सु थियो। त्यसयता तुवाँलो लागिरहेको छ’, उनले नेपालखबरसँग भने।
‘पारदर्शिता ५ किलोमिटरभन्दा मुनि भाको तर हावामा पानीका कण नभएको अवस्थालाई हामी हेज भन्छौँ, नेपालीमा चाहिँ तुवाँलो भन्छौँ’, मौसमविद् अधिकारीले थपे।
उनका अनुसार काठमाडौँ उपत्यकामा अहिले ३५ सय मिटर भिजिबिलिटी छ।
‘योभन्दा तल झर्यो भनेचाहिँ हवाई उडानमा समस्या हुन्छ। यत्तिले चाहिँ खासै फरक पार्दैन’, उनले भने, ‘३५ सय भिजिबिलिटीले सडक यातायातमा पनि असर पार्दैन।’
मौसमविद् अधिकारीका अनुसार न्यून चापीय प्रणालीले काठमाडौँ उपत्यकामा बादल त ल्याएको छ तर त्यो माथिल्लो वायुमण्डलमा मात्र सीमित भएकाले वर्षा हुन सकेन।
‘अहिले यहाँको वायुमण्डल स्थिर छ। अहिले हावाको गति पनि नगण्य छ। हावाको गति अलि बढी भएको भए पनि यहाँका कुरालाई थोरै भए पनि बढारेर लान्थ्यो। पश्चिमतिर चाहिँ जलवाष्पयुक्त हावा टन्न भएको र बादल पनि भएकाले त्यता पानी पनि पर्यो। काठमाडौँमा चाहिँ माथि माथि बादल त आएको छ तर लो लेबलमा चाहिँ ड्राई नै छ। तल्लो वायुमण्डलचाहिँ सुक्खा नै छ। पश्चिमी न्यून चापीय प्रणालीले पानी पनि बोकेर ल्याउन नसकेकाले भिजिबिलिटी पर्याप्त हुन पाएन।’
Shares

प्रतिक्रिया