नवलपुरको गैँडाकोट नगरपालिका–१ कुमालटोल बस्ने १३ वर्षीया दीक्षा सेर्पुञ्जा र उनका ९ वर्षीय भाइ स्वप्निल गएकाे २० घन्टादेखि नारायणीमा बेपत्ता छन्। मंगलबार साँझ गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकैबाट नारायणी नदीमा बेपत्ता उनीहरु अझै भेटिएका छैनन्।
उनीहरु मामाघरकी हजुरआमासँग घुम्न भनेर घरबाट निस्किएका थिए। हजुरआमा सुनमाया कुमालसँग १३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जा नदी किनारतिर घुम्न निस्किएको बेला नदीमा बेपत्ता भएका हुन्।
सुनमाया आफ्ना श्रीमान् र छोरा पनि उतैतिर माछा मार्न गएको भन्दै नातिनातिनालाई साथी लिएर नारायणी नदीतिर निस्किएकी थिइन्।
दिउँसो ३ बजेतिर घरबाट निस्किएका उनीहरु साँझ ५ बजेतिरसम्म उतै घुमिरहे। घरमा बस्दा गर्मी भएको भन्दै नदी किनारको छेउजाउमा जाने निर्णय सुनमायाले गरेकी थिइन्। आफ्नी छोरी विष्णुमाया सेर्पुञ्जा र ज्वाइँ जगत बहादुर सेर्पुञ्जा काममा गएका कारण नातिनातिना हेर्ने जिम्मा सुनमायाको थियो।
विष्णुमायाका दम्पत्ति माइतिकै जग्गामा छुट्टै घर बनाएर बस्दै आएका थिए। सुनमायाले दीक्षा र स्वप्निललाई लिएर घुम्न भन्दै घरबाट निस्किइन्।
साँझको ५ः३० बजेतिर घर जाने भन्दै सुनमायाले दुवै नातिनातिनालाई अघि लगाएर घरजाने बाटोतर्फ लागिन्। अलि माथि पुगेपछि सुनमायाको गोडामा चप्पल नभएको चाल पाइन्। अनि उनले नाति स्वप्निललाई नदी किनारमा चप्पल छुटेको भन्दै ल्याइदिन भनिन्।
सोही वडाकी वडासदस्य प्रेम कुमारी विकले नेपालखरसँग भनिन्, ‘नातिनीलाई चप्पल बोकाउन हुँदैन भनेर सानो नातिलाई ल्याइदिन अराउनु भएछ। बाबु चप्पल लिन जाँदा चिप्लिएर नदीमा डुबेछन्। दिदी दीक्षा पनि भाईलाई साथी गएकी रहेछिन्। भाई नदीमा डुब्न लागेको देखेपछि बचाउन जाँदा उनी पनि नदीमै बेपत्ता भइन्।’
दीक्षा र स्वप्निलले डुबेपछि हात हल्लाउँदै गरेको दृश्य नदी आसपासमा माछा मार्दै गरेका व्यक्तिले देखेपछि खैलाबैला भएको थियो। त्यसपछि मात्रै हजुरआमा सुनमायाले नातिनातिना नदीमा डुबेको थाहा पाएको वडासदस्य विकले बताइन्।
साँझको समयमा घटना घटेकोले तत्कालै प्रहरीले उद्धारको प्रक्रिया अघि बढाउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। तथापि, सामान्य खोजतलास भने गरिएको प्रहरीले जनाएको छ।
आज बिहानैदेखि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उनीहरुको खोजी कार्य गरिरहेको सोही वडाका वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले जानकारी दिए।
‘हामी बिहानैदेखि बेपत्ता नानीबाबुको खोजीकार्यमा जुटिरहेका छौं,’ उनले भने, ‘यतिबेला गोताखोरको टोलीले पानीभित्र गएर खोजी गरिरहेको छ भने जनपथ प्रहरीले डुंगा लिएर नदी किनार तथा घटनास्थलको वरपर खोजी गरिरहेको छ।’
वडाध्यक्ष रेग्मीका अनुसार दीक्षा र स्वप्निल सोही वडामा रहेको नेपाल राष्ट्रिय शम्शेर माध्यामिक विद्यालयमा अध्यनरत थिए। दीक्षा कक्षा ७ को परिक्षा दिएर बसेकी थिइन् भने भाइ स्वप्निलले कक्षा ४ को परिक्षा सकाएका थिए।
Shares

प्रतिक्रिया