समाज


आज पनि पानी पर्ने क्रम जारी, नवमी र दशमीका दिन मौसम कस्तो होला?

आज पनि पानी पर्ने क्रम जारी, नवमी र दशमीका दिन मौसम कस्तो होला?

नेपालखबर
असोज १९, २०७६ आइतबार २:९,

यतिबेला (आइतबार बिहान) मौसम देशैभर बदली भएको छ भने देशका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने पूर्व, मध्य तथा पश्चिमका एक/दुई स्थानमा हल्का पानी परिरहेको छ।

दिउँसो पनि मध्य तथा पूर्वी क्षेत्रका थोरै र पश्चिमका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

उनका अनुसार काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली छ भने दिउँसोतिर उपत्यकाका विभिन्न स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ।

आज राति पनि मध्य तथा पूव भूभागका थोरै र पश्चिमी क्षेत्रका १ वा २ स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

भारतको उत्तर प्रदेश तथा बिहारआसपास न्यून चापीय प्रणाली छ। यही न्यून चापीय प्रणाली र स्थानिय वायुको प्रभावले नेपालका पूर्वी र मध्य क्षेत्रमा वर्षा गराइरहेको मौसमविद्ले बताएका छन्।

पश्चिमी क्षेत्रमा भने पश्चिमी वायुको प्रभावले मौसम बदली तथा वर्षा गराएको मौसमविद् कँडेलले जानकारी दिइन्।

मनसुन (वर्षा गराउने प्राकृतिक प्रणाली) अझै केही दिन हट्ने देखिँदैन। ‘त्यसैले दसैंभर मौसम सफा रहने देखिन्न,’ मौसमविद् कँडेलले नेपालखबरसँग भनिन्,‘पानी पर्ने सम्भावना छ, तर त्यस्तो लगातार झरी, ठूलो वर्षाको सम्भावना चैं छैन।’

विशेषगरी मध्य र पूर्वी क्षेत्रमा वर्षा जारी रहने सम्भावना छ भने पश्चिमका पनि एक/दुई स्थानमा हल्का पानी पर्ने सम्भावना छ।

नवमीका दिन
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार अर्थात् महानवमीका दिन पनि दिउँसो देशभरि आंशिकदेखि सामान्यसम्म मौसम बदली रही मध्य र पूर्वका थोरै तथा पश्चिमका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ।

सोही दिन राति पनि मध्य र पूर्वका थोरै स्थानमा हल्का पानी पर्ने अनुमान छ।

टीकाको दिन
यस्तै मंगलबार अर्थात् दसैंको टीका (विजया दशमी) को दिन पनि वर्षाको सम्भावना छ।

मौसमविद्का अनुसार त्यस दिन दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली भई मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। 

सोही राति मध्य र पूर्वका थोरै स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad