१० दिनको अबधिमा काठमाडौँ उपत्यकाबाट १० लाख यात्रु दसैंका लागि बाहिरिएका छन्।
५ देखि १४ असोजसम्म उपत्यकाका विभिन्न नाका हुँदै दसैँ, तिहार छठ पर्व मान्नका लागि १० लाख मानिस बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
अहिले दैनिक करिब एक लाख २५ हजारका दरले उपत्यकाबाट मानिस बाहिरिने गरेका छन्।
महाशाखाका अनुसार यस अबधिमा झण्डै सात लाख नागरिक उपत्यका भित्रिएका छन्। ६ लाख ९१ हजार ६ सय ४६ यात्रु काठमाडौँ उपत्यकामा भित्रिएका हुन्।
लामो दूरीका साधनलाई नागढुंगाबाट ट्राफिक कम्युनिकेसन एप्समार्फत चालक परिवर्तन गरे नगरेको हेर्ने गरिएको छ। नागढुंगाबाट बाहिरिने हरेक गाडी र चालकको फोटो खिच्ने गरिएको छ।
यस अबधिमा चालक परिवर्तन नगर्ने १५ वटा ठूला गाडीका चालकलाई कारबाही गरिएको ढकालले जानकारी दिए।
यस अबधिमा क्षमताभन्दा बढी यात्रु बोक्ने ३८ वटा सवारी साधन कारबाहीमा परेका छन्।
स्थानीय प्रशासनले सादा पोसाकका प्रहरी बसपार्क क्षेत्रमा परिचालन गरेर कालो बजारी भए नभएको अनुगमन गर्ने गरेको छ।
दसैँका लागि यात्रुहरु बाहिरिने क्रम बढे पनि कुनै पनि नाकामा जामको समस्या भने नभएको ट्राफिक प्रहरीको दाबी छ।
चाडपर्वमा यात्रा सहजताका लागि सरकारले १२ देखि १९ असोजसम्मका लागि बीपी राजमार्गबाहेक देशभरका गाडीको रुट परमिट खुला गरेको छ।
तर, बिपी राजमार्गमा भने सडकको संवेदनशीलताको कारण ठूला सवारी साधन सञ्चालन गर्न अनुमति लिनुपर्नेछ।
Shares

प्रतिक्रिया