नेपाल टेलिकमले आज (बुधबार) देखि देशैभर फोरजी/एलटीई सेवा सञ्चालन गर्दै छ।
देशका सातै प्रदेशका प्रमुख सहरमा उक्त सेवाको सेवाको सफ्ट लन्चमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक सुरुवात गर्ने कार्यक्रम रहेको नेपाल टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको छ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा मुख्य सहरहरू दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढीमा यो सेवा सञ्चालन गरिने भएको हो।
त्यस्तै साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने टेलिकमले जनाएकाे छ।
यसअघि काठमाडौं र पोखरामा मात्र उपलब्ध फोर जी सेवा हाल सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख सहरमा विस्तार गरिएको हाे। यसको प्रयोगपश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरूको प्रवाह पनि सहज हुनेछ।
मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा बृहत् सुधार हुनेछ।
विस्तारित फोरजीरएलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने छ। हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजीरएलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरुमा सेवा पु(याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुनेछ।
नेपाल टेलिकमले देशमै पहिलो पटक वि.सं. २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजीरएलटीई सेवाको शुरुवात गरेको थियो। यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो। यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए।
कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ कार्य अघि बढाइरहेको छ। सम्झौता अन्तर्गतको कार्य तदारुकताका साथ भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको छ।
कम्पनीले सातै प्रदेशमा फोरजीरएलटीई सेवाको शुभारम्भ गरेको अवसरमा फोरजी सेवा प्रयोग गर्नुहुने ग्राहकहरुका लागि आकर्षक इन्टरनेट प्याकेज पनि प्रदान गर्ने निर्णय गरेको छ। यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिएको छ।
यसअघि जम्मा २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा उपलब्ध गराइने छ। यो प्याकेज लिइएको २४ घण्टासम्मा प्रयोग गर्न सकिनेछ।
यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ। यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ।
साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ। यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीइ अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहनेछ।

प्रतिक्रिया