समाज


मनसुनकाे अवधि सकियो, तर किन परिरहेको छ पानी?

मनसुनकाे अवधि सकियो, तर किन परिरहेको छ पानी?

नेपालखबर
असोज ९, २०७६ बिहिबार २:०,

यस वर्षको दसैँसम्मै पानी पर्ने अनुमान मौसमविद्ले गरेका छन्।

मनसुनी गतिविधि चलिरहेकाले यो वर्षको दसैँमा पनि सानो- ठूलो पानी पर्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् मीनकुमार आर्यालले अझै कम्तिमा पनि एक सातासम्म छ्याङ्ग उग्रिएर घाम लाग्ने सम्भावना नदेखिएको बताए।

‘अहिले पनि मनसुनी गतिविधि सक्रिय छ,’ मौसमविद् अर्यालले नेपालखबरसँग भने, ‘मनसुनी गतिविधि निस्क्रिय भएर पूर्ण रुपमा घाम लाग्ने सम्भावना कम्तिमा एक सातालाई देखिँदैन।’

साविकअनुसार यस वर्षको मनसुनको समय अवधि दुई दिन अघि नै सकिएको छ। तर, मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद् अर्यालले बताए।

‘मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटेरिया’ पूरा हुनुपर्छ, त्यो हुने सम्भावना तत्काल देखिँदैन,’ अर्यालले भने, ‘नेपालबाट मनसुन विदा हुन पश्चिमी वायूको प्रभाव बढ्नुपर्छ, तर अहिलेसम्म त्यो देखिएको छैन। बरु मध्य मनसुनकै जस्तो देशैभरी दक्षिणपूर्वी वायूकै प्रभाव छ।’

सामान्यतया नेपालमा जुन १० तारिकमा मनसुन प्रवेश गर्ने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर, विगत केही वर्षदेखि मनसुनी गतिविधिले पुरानो सेड्युल अनुशरण गर्न कम गर्दै गएको मौसमविद् अर्यालले बताए।

‘नेपालमा मात्र होइन्, विश्वभरी नै यस्तो गतिविधि बढेको छ। जलवायु परिवर्तन र विश्व तापमानको असरले यस्तो भएको हुनसक्छ,’ मौसमविद् अर्यालले भने।

यति बेला मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ। यो भनेको मनसुनी गतिविधि सक्रिय नै रहँदाकै जस्तो अबस्था हो।

आज (बिहीबार) देशैभरको मौसम पूर्णदेखि आंशिक बदली छ। केही ठाउँमा हल्का वर्षासमेत भइरहेको मौसमविद् अर्यालले जानकारी दिए।

आज दिउँसो पनि घाम लाग्ने सम्भावना छैन। एकैछिन घाम लागेपनि फेरि बादलले ढाक्ने र देशका केही स्थानमा भारी वर्षासमेत हुने अनुमान मौसमविद्को छ।

मौसमविद् आर्यालले नेपालखबरसँग भने, ‘देशको पूर्वदेखि पश्चिमसम्मै जुनसुकै स्थानमा आज दिनभरी वर्षाको सम्भावना छ। केही ठाउँमा भारी वर्षासमेत हुन सक्छ।’

अहिले काठमाडौं उपत्यकामा पनि पूर्ण रुपमा मौसम बदली छ। आकाश बादलले ढाकेको छ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा २८ दशमलव ८ मिलिलिटर वर्षा भएको छ।

गएको राति पनि काठमाडौँ उपत्यकामा वर्षा भएको छ।

यस्तो छ महाशाखाकाे तीन दिनको मौसम पूर्वानुमान

असोज ०९ गते (बिहीबार)
दिउँसोः देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानमा गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज १० गते (शुक्रबार)
दिउँसोः देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभरी सामान्य बदली रहनेछ। पुर्वका थोरै साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज ११ गते (शनिबार)
दिउँसोः देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावनाको साथै देशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। पहाडि भूभागमा पहिरो जान सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad