छापा खबर


सानैमा बिहे, पछि छोडपत्र

सानैमा बिहे, पछि छोडपत्र

नेपालखबर
असोज ९, २०७६ बिहिबार १:१७,

कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ। आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ।

कलिलैमा गरिने बिहेका कारण धेरै परिवार टुक्रिएका छन्। सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने दर बढेको सरकारी तथ्यांकले देखाएको छ। उमेर नपुग्दै गरिने बिहेका कारण आमा र शिशुको मृत्युदर बढेको छ।

अधिकांश बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन्। बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी निकायबाट कर्णालीमा बर्सेनि करोडौं रकम खर्च भइरहेको छ। तैपनि, बालविवाह रोकिएको छैन।

बालविवाह न्यूनीकरणका लागि थालिएका अभियान प्रभावकारी नहुँदा यहाँका किशोरी बढी पीडित छन्। उमेर नपुग्दै गर्भवती हुने र बच्चा जन्माउन नसक्दा अकालमै ज्यान गुमाउन बाध्य छन्।

पढ्ने उमेरमा बिहे गरेका धेरै जोडीले विद्यालय छाडेका छन्। आर्थिक अभाव देखाउँदै कतिपय अभिभावकले नै उमेर नपुग्दै सन्तानको बिहे गरिदिन्छन्।

प्रेम सम्बन्धका कारण अधिकांश बालबालिकाले उमेर नपुग्दै हतारमा बिहे गर्ने गरेका छन्। अभिभावकको अनुमतिबिना कलिलैमा बिहे गरेका धेरै जोडी परिवारबाटै तिरस्कृत छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार ग्रामीण क्षेत्रमा बढी बालविवाह हुने गर्छ। जसकारण किशोरी आमाको संख्या बढेको, मातृमृत्युदर बढेको, अधिकांश बालबालिकाले बीचमै पढाइ छाडेको, सम्बन्धविच्छेद र बहुविवाह बढेको तथा किशोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बाल अधिकारकर्मीको भनाइ छ।

हतारमा बिहे गर्ने र आर्थिक व्ययभार थेग्न नसकेर धेरै किशोर रोजगारीका लागि बिदेसिन बाध्य छन्।

कतिपय जिल्लामा बालविवाहविरुद्ध अभियानको नेतृत्व गर्ने बालबालिकाले नै बालविवाह गरेका छन्। यसले बालविवाह न्यूनीकरणमा थप चुनौती देखा परेको छ।

किशोरी आमाको मृत्युदर बढ्यो
जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्तीकी १८ वर्षीया संगीता रावतको सुत्केरी हुन नसकेर ज्यान गयो। यो घटनामा संगीताले बच्चालाई जन्म दिन सकिनन्। चन्दननाथ नगरपालिका–७ की किशोरी विष्णुमाया महतको पनि सुत्केरी हुन नसकेरै मृत्यु भयो।

सानै उमेरमा बिहे गरेका कारण सुत्केरी हुने क्रममा मृत्यु हुने किशोरीको संख्या कर्णालीमा बढ्दो छ। सुत्केरी हुँदा उच्च रक्तस्रावका कारण जुम्लाकै तातोपानी गाउँपालिका–४ जयतपुरकी किशोरी लक्ष्मी कामीको घरमै ज्यान गयो।

कलिलै उमेरमा गर्भवती हुने र स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच नगर्दा अधिकांश किशोरीको अकालमै मृत्यु हुने गरेको स्वास्थ्य कार्यालय जुम्लाका निमित्त प्रमुख लक्ष्मण चौलागाईंले बताए। अधिकांश किशोरी पाठेघरमा समस्या देखिएका कारण पीडित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad