कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभाग आफ्नै विज्ञापनलाई लिएर विवादित बनेको छ। विभागले निकालेको एउटा मासु प्रवर्द्धन विज्ञापनमा गाईको फोटो समेत राखेपछि विभागले विज्ञप्ति नै निकालेर माफी मागेको हो।
विभागले मंगलबार विज्ञप्ति निकाल्दै गाईको तस्बिर विज्ञापन पोस्टरमा भूलवश पर्न गएको भन्दै माफी मागेको छ। विभागले विज्ञप्तिमा भनेको छ, ‘पशुसेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाइभ स्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन ललितपुरको बा२झ ३८११ नम्बरको मोबाइल भ्यानमा पशुपन्छीजन्य उत्पादनहरु दूध, मासु, अण्डा आदिको उत्पादन प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने हेतुले प्रचार प्रसारको लागि राखिएका पोष्टरमध्ये एउटा पोस्टरमा छपाईको त्रुटिका कारणले गाईको तस्बिर भूलवश अन्यत्र पर्न गएकोमा सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवालाहरुले उठाउनुभएको गुनासोप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ।’
विभागले उक्त त्रुटि सच्याइसकिएको जानकारी दिँदै प्राविधिक कारणले त्रुटि भएकोमा क्षमा याचना गरेको विभागका महानिर्देशक डा. वंशी शर्माले विज्ञप्तिमा जनाएका छन्। धेरै समयसम्म हिन्दूराष्ट्र रहँदै आएको नेपाललाई पछिल्लोपटक ०७२ असोज ३ मा जारी भएको नयाँ संविधानले धर्मनिरपेक्ष बनाए पनि गाईलाई राष्ट्रिय जनावर मानेको छ।
त्यसमा पनि अधिकांश नेपालीहरुले गाईलाई भगवानको रुपमा अझ ‘माता’को रुपमा लिने हुनाले नेपालमा गाई, गोरुको वधलाई पूर्णतया निषेध गरिएको छ। सामाजिक, सांस्कृतिक र धार्मिक रुपमा जोडिएको गाईलाई विवादित बनाउने गरी विभागको विज्ञापनमा मासुको प्रचार गरिएपछि सामाजिक सञ्जालमा तीव्र विरोध हुनथालेको थियो। सोही सन्दर्भमा विभागले माफी मागेको हो।
पछिल्लो विज्ञापनले नेपाली प्रशासन क्षेत्रमा काम गर्नेहरुको गम्भीर लापरबाही देखिन्छ। हतारमा हचुवामा निर्णय गर्ने र फुर्सदमा पछुताउने उखानलाई सार्थकता दिने गरी विभागको लापरबाही बाहिरिएको हो।

प्रतिक्रिया