काठमाडौं उपत्यकाभित्रै विभिन्न सहकारी र वित्तीय संस्थाको ढोका फोडी चोरीमा संलग्न दुई जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाले काठमाडौं पेप्सीकोलास्थित टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थामा चोरी गर्ने रामेछापका दुई जनालाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछाप दोरम्बाका सुनिल थापा मगर र सोही स्थान बस्ने दान बहादुर थापा मगर रहेका छन्। उनीहरु १८ र २१ वर्षका रहेको प्रहरीले जनाएको छ। गत २५ गते उनीहरुले उक्त सहकारीको मूल ढोका फोडी कोठामा रहेको ८५ किलोको सेफ तथा त्यसमा रहेको ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ र विभिन्न व्यक्तिको कागजात र सरसामान चोरी गरेका थिए।
उनीहरुबाट चोरी गरी लगिएको काटिएको सेफ, फलामका चार गल, सामसुङ मोबाइल, ५३ हजार नगद, चोरी गर्दा प्रयोग भएको कपडा बरामद भएको छ।
उनीहरुविरुद्ध थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाइएको छ।

प्रतिक्रिया