समाज


सेतीमा बगाउन भीरबाट खसालिए गाई, तीनको उद्धार

सेतीमा बगाउन भीरबाट खसालिए गाई, तीनको उद्धार

नेपालखबर
भदौ १८, २०७६ बुधबार ९:४७,

डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला नजिकै रहेको सेती नदीको भिर चट्टानमा मार्ने उद्देश्यले अज्ञात व्यक्तिले फालेका तीन वटा गाईको उद्धार गरिएको छ।

उद्धार गरिएका गाईलाई संरक्षणका लागि दिपायल सिलगढी नगरपालिकाको जिम्मा लिएको छ। सेती नदीको चट्टानमा कसैले फालेर फसिरहेका गाईलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा मङ्गलबार साँझ उद्धार गरी सुरक्षित ठाउँमा निकालिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।

उनले भने, ‘नदीको चट्टानमा फालिएका गाईको उद्धार गरिएको छ, सडकमा छोडिएका गाई जानीजानी उक्त भिरमा धकेलेको जस्तो छ, फाल्नेलाई कारवाही गर्न आदेश दिएको छु।’ गाई फसेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको दिपायलमा रहेको ३६ नम्बर गणको टोली तथा स्थानीयवासीसहितको टोलीले गाईको सकुशल उद्धार गरेको थियो।

त्यस्तै उद्धार गरिएका गाईमध्ये केही दुधालु तथा केही गाई ब्याउने अवस्थाका रहेको उद्धार कार्यमा संलग्न स्थानीयवासी तेजबहादुर डुम्रेलले बताए। उनले भने, ‘केही गाई दूध दिनेजस्ता छन् भने केही गाई ब्याउने अवस्थाका छन्, कसले भिरमा फाल्यो अचम्म छ।’

डोटी दिपायल पिपल्लास्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडारूपमा छाडिएका गाई जम्मा गरेर कसैले राति बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। गाई कसरी बगेका हुन् भन्नेबारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताए।

उनले भने, ‘राम्रा गाईहरु भिरमा खसालेका छन्, कसले खसाले छ खोजी गर्दैछौँ।’ उद्धार गरिएका गाईलाई दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। यसभन्दा अगाडि पनि सोही ठाउँमा सात वटा गाई फालिएको थियो। फालिएका ती गाईको पनि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए। गाईलाई कसले त्यहाँ फालेको हो भन्ने विषयमा कसैलाई पनि जानकारी छैन।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad