जापानमा नेपाली कामदार लगिने प्रक्रिया सुरु भएको छ। यसका लागि कात्तिक १० देखि तीन चरणमा सीप तथा भाषा परीक्षण हुने भएको छ। जापान सरकारले फिलिपिन्स, कम्बोडिया, नेपाल, म्यान्मार र मंगोलियाबाट नर्सिङ केयरगिभर लैजाने प्रक्रिया अघि बढाएको हो।
नेपालमा आगामी अक्टोबर र नोभेम्बरमा तीन चरणमा सीप तथा भाषा परीक्षण हुनेछ। आगामी अक्टोबर २७ देखि २९ तारिखसम्म (कात्तिक १० देखि १२ गतेसम्म) पहिलो चरणमा, नोभेम्बर ५ देखि ७ सम्म (कात्तिक १९ देखि २१ सम्म) दोस्रो र नोभेम्बर १२ देखि १४ तारिखसम्म (कात्तिक २६ देखि २८ सम्म) तेस्रो चरणमा परीक्षा हुनेछ।
उक्त परीक्षाको लागि पाठ्यक्रम पनि जापान सरकारले अनलाइनमा सार्वजनिक गरेको छ। जसअनुसार ‘नर्सिङ केयर स्किल्स इभ्यालुएसन टेस्ट’ हुनेछ। ६० मिनेटको समयमा परीक्षार्थीले ४५ वटा प्रश्नहरु सोधिनेछ। यसअन्तर्गत लिखित परीक्षामा ४० वटा प्रश्न सोधिनेछ। जसअनुसार केयर फन्डामेन्टल्ससँग सम्बन्धित १० वटा प्रश्न सोधिनेछन्।
त्यस्तै मस्तिष्क र शरीरको मेकानिज्मसम्बन्धी ६ वटा प्रश्न हुनेछन्। त्यसमा कम्युनिकेसन स्किल्ससँग सम्बन्धित ४ वटा प्रश्न हुनेछन् भने फिजिकल केयरसँग सम्बन्धित २० वटा प्रश्न हुनेछन्। प्राक्टिकल परीक्षा पनि लिइनेछ जसमा पाँचवटा प्रश्न हुनेछन् । यो परीक्षा भने सीबीटी मेथड (तरिका)बाट हुने जनाइएको छ। सीबीटी टेस्ट मेथड भनेको कम्प्युटरमा आधारित परीक्षा प्रणाली हो। परीक्षार्थीहरुले यो परीक्षा शुल्कस्वरुप करिब १ हजार जापानी येन खर्च गर्नुपर्नेछ।
त्यस्तै नर्सिङ केयर जापानी ल्यांग्वेज इभ्यालुएसन टेस्ट पनि हुनेछ। यसको समय ३० मिनेट हुने र १५ वटा कुल प्रश्न हुनेछन्। यसअन्तर्गत केयरको टेक्निकल टर्मसँग सम्बन्धित ५ प्रश्न, केयर कम्युनिकेसनसँग सम्बन्धित ५ र केयर डक्युमेन्टसँग सम्बन्धित ५ प्रश्न हुनेछन्। यसका लागि पनि शुल्क करिब जापानी येन १ हजार तिर्नुपर्नेछ।
नतिजा
परीक्षणको नतिजा भने परीक्षा भएको एक महिनापछि सम्बन्धित परीक्षार्थीको लगइन पेजमा सार्वजनिक गरिने जनाइएको छ। कुल पूर्णांकको ६० प्रतिशत ल्याएमा परीक्षामा उत्तीर्ण भएको मानिने बताइएको छ।
जापानले गत वर्षको पुसमा नेपालसहित नौ देशबाट १४ प्रकारका कामका लागि कामदार लैजाने निर्णय गरेको थियो। जापानले नयाँ नीति सार्वजनिक गर्दै पाँच वर्षभित्र ६० हजार नर्स भित्र्याउने लक्ष्य राखेको छ। यसअन्तर्गत पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १ सय ४५ कामदार लैजाने बताएको छ।
नेपालमा कसले लिन्छ परीक्षा?
जापान जाने कामदारका लागि नेपालीहरुको परीक्षा जापान फाउन्डेसनले लिने श्रम मन्त्रालयले जानकारी दिएको छ। परीक्षार्थीहरुले जापानी भाषाको एन४ तह उत्तीर्ण गर्नुपर्ने हुन्छ। त्यसपछि मात्रै जापान सरकारले भिसा आवेदन गर्न स्वीकृति दिनेछ।

प्रतिक्रिया