ट्रक ठोक्किँदा भाँचिएको नवलपरासीको अरुणखोला पुलको मर्मत सकिएको छ। मर्मत सकिएसँगै पुलबाटै गाडी गुड्न थालेका छन्।
२९ साउनमा ट्रक ठोक्किँदा पुल करीब डेढमिटर लच्किएको थियो। मर्मतपछि पुलबाटै गाडी चल्न थालेका प्रहरीले जनाएको छ।
गएको शनिबार डाइभर्सनमा सामान्य क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको थियो। पुल मर्मतको काम पूरा भएपछि गए रातिबाट दुईतर्फीरुपमा यातायात सञ्चालन गरिएको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले जानकारी दिए।
सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले भाँचिएको पुलको मर्मत गरेको हो।
वैकल्पिक बाटोका रूपमा बनाइएको ‘डाइभर्सन’ भरपर्दो नहुँदा यात्रुले सास्ती पाएका थिए। बनाइएको ‘डाइभर्सन’ बाढी बगाउँदा यातायात सञ्चालनमा समस्या भएको थियो।
‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ भएपछि पुललाई छिटोभन्दा छिटो मर्मत गरेर सञ्चालन गरिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए।
जिल्लामा रहेका पुलहरु प्राय ‘स्टिल ट्रस’को प्रयोग गरेर निर्माण गरिएका छन् । पुल बनाएको समेत लामो समय भएकाले सामान्यरूपमा सवारीले ठक्कर दिँदासमेत धेरै क्षति हुने गरेको छ।
सडक विभागले पुलको सुरक्षाका लागि पुलको आसपासमा स्टिलको ‘डब्लु बिम’ (पुलको सुरक्षाका लागि निर्माण गरिएको स्टिलको बार) समेत बनाएको छ । तर पनि विभिन्न समयमा यहाँका पुलमा सवारीको ठक्करबाट क्षति हुँदै आएको छ।
पुलको सुरक्षाका लागि बनाइने स्टिलको बार केही पुल छैनन्। ती पुलमा समेत बार निर्माण गरिने इञ्जिनीयर सुवेदीले बताए। पुल निर्माणको समयमा अहिलेको भारलाई मूल्याङ्कन नगरिएको र संरचनासमेत पुरानो हुँदै जाँदा पुलमा क्षति पुग्ने गरेको इन्जिनियर सुवेदीले बताए।
Shares

प्रतिक्रिया