समाज


‘डिजिटल सीपले उद्यम र रोजगारीका अवसर बढाउँछ’

‘डिजिटल सीपले उद्यम र रोजगारीका अवसर बढाउँछ’

नेपालखबर
असार ७, २०८३ आइतबार २०:११, ललितपुर

डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत उद्यमशीलता विकास, उत्पादन प्रवर्द्धन र रोजगारीका अवसर विस्तार गर्न डिजिटल सीप अपरिहार्य बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। 

ललितपुरको गोदावरीमा आयोजित दुई दिने डिजिटल मार्केटिङ तालिमको समापन कार्यक्रममा वक्ताहरूले डिजिटल युगमा प्रतिस्पर्धी बन्न प्रविधिमैत्री ज्ञान र सीप आवश्यक रहेकोमा जोड दिएका हुन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक सहयोगमा आयोजित तालिम शनिबारदेखि सञ्चालन भएको थियो। तालिममा गोदावरी नगरपालिकाका युवाहरूको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा गोदावरी नगरपालिका–३ का वडाध्यक्ष राज घिमिरेले युवाहरूलाई आर्थिक गतिविधि र उद्यमशीलतासँग जोड्न यस्ता तालिम प्रभावकारी हुने बताए। प्रविधि र एआईको प्रयोगले दैनिक कामकाजलाई सहज र प्रभावकारी बनाएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिनुपर्ने बताए।

तालिमका प्रशिक्षक तथा बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले २१औँ शताब्दीको प्रतिस्पर्धात्मक युगमा सफल हुन ‘स्मार्ट’ बन्न आवश्यक रहेको बताए। एआईसम्बन्धी ज्ञानले कार्यक्षमता वृद्धि गर्नुका साथै रोजगारी र व्यवसायका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

अनलाइन पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले वर्तमान समयमा डिजिटल मार्केटिङसम्बन्धी ज्ञान अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यक्तिगत तथा व्यावसायिक जीवनमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरे।

प्रशिक्षक शिवहरि घिमिरेले डिजिटल युगमा व्यवसायको दिगोपनाका लागि डिजिटल मार्केटिङ अपरिहार्य बनेको बताए। उत्कृष्ट उत्पादनलाई सही माध्यममार्फत सही ग्राहकसम्म पुर्‍याउन सक्नु नै आजको मुख्य चुनौती रहेको उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले डिजिटल मार्केटिङले उद्योग तथा व्यवसायलाई विश्व बजारसँग जोड्ने सशक्त माध्यमका रूपमा काम गरिरहेको बताए। तालिमले सहभागीहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरी उत्पादनशीलता वृद्धि तथा बजार विस्तारमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

तालिममा डिजिटल मार्केटिङका आधारभूत सिद्धान्त, इमेल, इन्टरनेटको प्रयोग, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, एआई उपकरणको उपयोग, सामग्री निर्माण तथा अनलाइन बजार प्रवर्द्धनका विषयमा प्रशिक्षण दिइएको थियो।

दुई दिनसम्म सञ्चालन भएको तालिममा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र पोलिगन कलेजका प्राध्यापक योगेन्द्र बहादुर महताले समेत सहजीकरण गरेका थिए। तालिमको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad