सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आजबाट सञ्चालनमा आएको छ।
नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपीडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। ओपीडी सेवा साविकबमोजिम सञ्चालन हुने बताइएको छ।
कोरोना सङ्क्रमित र मृत्यु हुनेहरुको दर बढ्दै गएपछि कैलालीमा जिल्लाभर वैशाख १६ गते देखी निशेधाज्ञा लागू गरिएको थियो।
‘सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित हुनेहरुको चाप ह्वात्तै बढेपछि शय्या भरिभराउ भएर केही दिन अस्पताल परिसर र ग्यालेरीमा सङ्क्रमित बिरामीलाई राखेर उपचार गर्नुपर्ने स्थिति सिर्जना भएको थियो’, सूचना अधिकारी श्रेष्ठले भने, ‘अहिले कोरोना सङ्क्रमित बिरामीका लागि छुट्याइएर राखिएका शय्या समेत खाली भएका छन्।’
सङ्क्रमण नै कम भएर परिक्षणको दर पनि घटेको हुन सक्ने उहाँको भनाई छ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा मात्रै वैशाख २० गते एक हजार २२३ जनामा नमूना परीक्षण गर्दा एकैदिन ५९८ जनामा कोरोना पुष्टि भएको थियो भने कोरोनाबाट आठ जनासम्म मृत्यु भएको अस्पतालको तथ्याङ्मा उल्लेख छ। अहिले अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ।
अस्पतालमा १६ जना कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन्। यसमध्ये नौ जना आईसीयूमा, दुई जना भेन्टिलेटरमा र पाँच जना अक्सिजन सपोर्टमा उपचाररत रहेको बताइएको छ। रासस
Shares

प्रतिक्रिया