पाँच दलीय गठबन्धनमा एमालेका माधवकुमार नेपालले अहिलेसम्म केपी शर्मा ओलीसँग मिल्ने कुनै संभावना नदेखिएको प्रष्ट पारेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाका नेताहरुबीच आइतबार भएको छलफलमा उनले सो कुरा प्रष्ट्याएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको गठबन्धनको बैठकमा देशका विभिन्न स्थानमा बाढी पहिरोले पारेको क्षतिको उद्धार र राहत दिनको लागि संयुक्त विज्ञप्ति निकाल्ने र आआफ्ना टोलि परिचालन गर्ने निर्णय पनि भएको थियो।
बैठकमा कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई, एमालेका माधव नेपाल र भीम रावल र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए।
सो बैठकमा नेपालले आफ्नो धारणा राख्ने क्रममा सो कुरा बताएका हुन्।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आजको दिनसम्म मिल्ने कुनै संभावना नरहेको बताएका थिए।
‘आजको दिनसम्म मिल्ने कुनै संभावना विकास भएको छैन, बाहिर अनेक खालका चर्चा भएका छन्, केही मिडियाले अदालतमा बुझाएको हस्ताक्षर समेत फिर्ता लिन लागेको भनेर लेखेछन्,’ नेपालको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘हस्ताक्षर फिर्ता हुँदैन, ओलीजीसँग मिल्ने संभावना पनि अहिलेसम्म बनेको छैन।’
बैठकमा आगामी दिन कस्ता कार्यक्रम ल्याउने र बाढी पहिरोबाट पीडितलाई उद्धारका लागि आफ्ना टीम परिचालन गर्ने विषयमा पनि छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण पनि भएको थियो।
गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तारमा भएको ढिलाइका विषयमा छलफल गर्दै सबै पक्ष मिलाएर न्यायोचित रुपमा मन्त्रिमण्डल विस्तार गर्ने सहमति जुटेको पौडेलले बताइन्।
‘गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार न्यायोचित रुपमा गर्ने सहमति जुटेको छ,’ पौडेलले भनिन्।
सो प्रदेशमा कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले विश्वासको मत लिए पनि मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन्।
पाँचदलीय गठबन्धनले एक/दुई दिनमै फेरि अर्काे बैठक बस्ने पनि सहमति गरेका छन्।
‘तत्कालै बैठक बस्ने भनेका छौँ,’ पौडेलले थपिन्।
Shares

प्रतिक्रिया