समाज


झा दम्पतीको हत्याको आरोपमा सातजना जेल चलान

झा दम्पतीको हत्याको आरोपमा सातजना जेल चलान

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार १०:२६,

गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज जेल चलान गरेको छ।

जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिष झाको जाहेरीले वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दामा प्रतिवादीहरु सात जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो।

जिल्ला न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासबाट प्रतिवादीहरु कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने राजीन्द्र यादव र विकास भन्ने बबलु झालाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई रु दुई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएकामा तारादेवी झाले धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो।

साथै घटनामा संलग्न अन्य दुईजना रञ्जित मिश्र र तेजनारायण झाको हकमा पक्राउ पुर्जी म्याद जारी गर्न आदेश भएको हो। महोत्तरी जिल्ला अदालतमा मुद्दा नं ०७७–सी१–०२७६ मा प्रतिवादीहरु विरुद्ध अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दाहरु मिति २०७८ वैशाख ३ गते दर्ता भई बयान कार्य सम्पन्न भएर आज उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो।

फागुन १० गते सुतेकै अवस्थामा घरबाट गायब भएका झा दम्पतीको चैत १२ गते एक महिना दुई दिनपछि प्लाष्टिकको बोरामा शरीरका सबै मासु गलिसकेर कङ्काल मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो। पिपरा–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्षको बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काभेटरले नयाँ पुरिएको माटो मिलाउन खोज्दा स्काभेटरको बकेटमा कङ्काल रहेको बोरा आएपछि झा दम्पतीको अवस्था पत्ता लागेको थियो।

घटनामा संलग्न रहेका नौमध्ये जिल्ला प्रहरी कार्यालय महोत्तरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएर जिल्ला अदालतमा उपस्थित गराएकामा सातै जना जेल चलान भएका हुन्। घटनामा संलग्न अन्य दुई जनाको पनि प्रहरीले दैनिक खोजतलास गरिरहेको र चाँडै फेला पार्ने प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए। रासस

झा दम्पती हत्या प्रकरण : पक्राउ परेका तीनै जना एकै परिवारका, शव लुकाएको बाकस र जलेका कपडा बरामद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad