समाज


कोरोना महामारीले घटायो यौन इच्छा : अनुसन्धान

कोरोना महामारीले घटायो यौन इच्छा : अनुसन्धान

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ८:३०,

कामको सिलसिलामा धेरैजसो समय घरबाहिर बिताउने दम्पतीका लागि सुरुमा लकडाउन वरदानजस्तै भयो। किनकि आक्कलझुक्कल भेट हुने दम्पतीले लामो समय सँगै बस्ने मौका पाए।

तर लकडाउन लम्बिँदै जाँदा दाम्पत्य सम्बन्धलाई असर गर्न थाल्यो। टेक्ससकी यौन विशेषज्ञ एमली जेमिया भन्छिन्, ‘धेरै दम्पतीमा यौन चाहना ज्यादै कम भएर गयो।’

उनका अनुसार विश्वभरि गरिएका अध्ययनले त्यस्तै देखाएका छन्। सन् २०२० मा टर्की, इटली, भारत र अमेरिकामा गरिएका अध्ययनले लकडाउनका कारण मानिसमा यौन चाहना कम भएको देखाएका हुन्।

अमेरिकामा अध्ययन गरेका सामाजिक मनोवैज्ञानिक जस्टिन लेहमिलर भन्छन्, ‘यसको खास कारण धेरै मानिसलाई धेरै दबाब भएको हुनसक्छ।’

लकडाउनले धैरका लागि अनिश्चितता र डरको वातावरण सिर्जना गर्‍यो। स्वास्थ्यसम्बन्धी तनाव, आर्थिक अन्योलता र जीवनका अन्य महत्त्वपूर्ण परिवर्तनले गाँज्यो। यी सबै कारण र एकै व्यक्तिसँग घरभित्र लगातार सँगै बस्नुपर्दा मानिसको यौन चाहना घटायो।

एक प्रकारले कोरोना महामारी यौनका लागि विषालु साबित भएको विज्ञ बताउँछन्। टेक्सस विश्वविद्यालयकी सामाजिक मनोवैज्ञानिक रोन्डा बाल्जारिनी सुरुको केही समय मानिसका लागि हनिमुन अवधिजस्तै भएको बताउँछिन्।

‘तर समय बित्दै जाँदा तनाव बढ्यो। जब उत्साह घट्छ तब डिप्रेसन बढ्छ,’ उनी भन्छिन्, ‘यस्तो हुँदा दम्पतीबीच समस्या भएको पायौं।’

बाल्जारिनीको टोलीले ५७ देशमा गरेको अनलाइन सर्वेक्षणले त्यस्तो देखाएको हो।

कोरोनाको जोखिम बढ्दै जाँदा चिन्ता र एकांकीपनले मानिसमा यौन चाहना घटेको उनको अध्ययनले देखाएको छ।

‘यसलाई यौनविज्ञ सिंहका अगाडि मृगले रमाइलो गर्न सक्दैन भन्छन्,’ जेमिया भन्छिन्, ‘ठूलो खतरा छ भने त्यसले हाम्रो शरीरलाई यौनका लागि उपयुक्त समय नभएको सन्देश प्रवाह गर्छ। यसैकारण तनाव धेरै हुँदा यौन आंकाक्षा कम हुन्छ।’

अत्यधिक निकटता
बाल्जारिनीका अनुसार सुरुमा दम्पतीहरू दिउँसै सँगै नुहाउने वा यौन चाहना जागृत गराउने यस्तै गतिविधिमा संलग्न भएको पाइए पनि यस्ता अन्तरंग क्रियाकलापबाट मानिस अघाए।

त्यसपछि दैनिक व्यवहारका काम बढेको र दम्पतीले एकअर्कालाई घोचपेच गर्न थालेको पाइएको उनी बताउँछिन्।

लेहमिलरका अनुसार धेरै समय सँगै बिताउँदा यौन चाहना नराम्ररी कम हुन सक्छ। यौन चाहना कायम राख्ने एउटा उपाय हो– आफ्नो यौन साथीसँग केही रहस्य र दूरी राख्नु। ‘जब तपाईँ एकअर्कालाई जतिखेर पनि देख्नुहुन्छ, त्यो रहस्यमय कुरा हराएर जान्छ,’ उनी भन्छन्।

यौन चाहना फर्किएला त?
एउटा व्यवहारले यौन जीवन सुधार्ने सम्भावना अनुसन्धानकर्ताले औंल्याएका छन्। त्यो हो– यौन व्यवहार परिवर्तन गर्ने। उनीहरूका अनुसार अध्ययनमा सहभागी पाँचमध्ये एक जनाले ओछ्यानमा केही नयाँ प्रयोग गरे, जसले उनीहरूको यौन चाहना र निकटता पुनः प्राप्त गर्न सघायो।

नयाँ प्रयोगमा ‘नयाँ आसन, स्वैरकल्पना, यौन खेलौनाको प्रयोग र एकअर्कालाई मसाज गरिदिने’जस्ता गतिविधि गरिएको अध्ययनमा उल्लेख छ।

अध्ययनमा केही व्यक्तिले महामारीमा पहिलोपटक दाम्पत्य जीवनबाहिर सम्बन्ध राखेको पाइएको छ। यस्तो सम्बन्धले यौन जीवनमा दीर्घकालीन असर गर्ने अनुसन्धानकर्ता बताउँछन्।

अन्य केही दम्पतीको सम्बन्ध महामारीका कारण निम्तिएको आर्थिक दुःखका कारण पनि बिग्रिएको पाइएको छ।

तर खोप लगाएपछि, व्यापार/व्यावसाय खुलेपछि र काममा फर्कन थालेपछि धेरै मानिको यौन जीवन पुरानै अवस्थामा फर्किन थालेको जेमिया बताउँछिन्।

लेहमिलरका अनुसार महामारी नियन्त्रण भएपछि धेरै दम्पती पहिलेकै जस्तो अवस्थामा फर्किने सम्भावना छ। ‘तनाव घटेपछि उनीहरूको यौन जीवनमा सुधार हुनेछ,’ उनी भन्छन्। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad