समाज


बिहानै बाँकेमा एक संक्रमितको मृत्यु, भेरीमा उपचाररत ४९ जनाको अवस्था गम्भीर

बिहानै बाँकेमा एक संक्रमितको मृत्यु, भेरीमा उपचाररत ४९ जनाको अवस्था गम्भीर

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ४:२७,

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर बन्दै गएको छ।

अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ जना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर बनेको हो। गम्भीर अवस्थाका ४९ मध्ये सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

बाँकेमा आज बिहान एक संक्रमितको उपकारको क्रममा मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–१३ सुर्खेत निवासी ३१ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो। एक हप्ताअघि मात्र भारतबाट फर्किएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपश्चात चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै आज बिहान ७ः३५ मा उनको मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए।

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके पुगेका ९३ जनाको मृत्यु भइसकेको छ। बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ । बाँकेमा अहिलेसम्म पाँच हजार ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये चार हजार ७०२ जना डिस्चार्ज भइसकेका छन्।

बाँकेमा बढ्दै गएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा कम्तीमा ५० शय्याको आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाभित्र साविकमा सञ्चालनमा आएका १२० शय्याको ह्वाइटहाउस आइसोलेशन पुनः सञ्चालन गर्ने, कोरोना बिरामी ओसारपसार गर्न प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, भेरी अस्पतालको १४२ शय्याको आइसोलेशनमा जनशक्ति थपेर सञ्चालनका लागि तयारीमा राख्ने तथा यसअघिका जिल्लामा रहेका सबै आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad