नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले मात्र आधुनिक चिकित्सकीय अभ्यास गर्न र औषधि सिफारिस गर्न आग्रह गरेको छ।
संघले सूचना जारी गर्दै आधिकारिक डिग्री प्राप्त गरेको चिकित्सकहरूले मात्र चिकित्सकीय अभ्यास गर्न भनेको हो।
गैरचिकित्सकहरूले चिकित्सकीय अभ्यास र औषधि सिफारिस गर्दा आमनागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले आधिकारिक डिग्री प्राप्त गरेका चिकित्सकले मात्र अभ्यास गर्न संघले पत्रमार्फत् भनेको छ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७ (१) मा कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धी चिकित्सा काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्ध डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आ-आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लाउन हुँदैन भन्ने व्यवस्था रहेको संघले स्पष्ट पारेको छ।
‘हाल विभिन्न सामाजिक सञ्जालहरूमा गैरचिकित्सकहरूले चिकित्सकीय अभ्यास गर्न र औषधि सिफारिस गर्ने आदि कार्यले आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले आधिकारिक डिग्री प्राप्त गरी काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले मात्र आधुनिक चिकित्सकीय अभ्यास गर्न र औषधि सिफारिस गर्न हार्दिक आग्रह गर्दछौँ,’ पत्रमा उल्लेख गरिएको छ।

Shares

प्रतिक्रिया