समाज


रगत जम्ने समस्या देखिएपछि अमेरिकामा जोन्सन एन्ड जोन्सनको खोप लगाउन रोक

रगत जम्ने समस्या देखिएपछि अमेरिकामा जोन्सन एन्ड जोन्सनको खोप लगाउन रोक

नेपालखबर
बैशाख १, २०७८ बुधबार ९:२४,

एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिनसक्ने अमेरिकी अधिकारीहरुको भनाई छ।

अमेरिकी अधिकारीहरुको भनाई सार्वजनिक भएलगत्तै जोन्सन कम्पनीले युरोपेली मुलुकमा वितरण गर्न तयार पारिएको खोप पनि हाललाई रोकिएको जनाएको छ।

अमेरिकामा झण्डै ७० लाखले यो खोप लिइसकेका छन्। तीमध्ये १८ देखि ४८ वर्ष उमेर समूहका छ जना महिलाको मस्तिष्कमा रगत जम्ने समस्या देखिएको अधिकारीहरुको भनाई छ।

अमेरिकी अधिकारीहरुका अनुसार रगत जम्ने समस्या देखिएकामध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एकको अवस्था निकै जटिल छ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनका वैज्ञानिक पिटर मार्क्सले युरोपमा अस्ट्राजेनिकाको खोप लगाएका व्यक्तिकै जस्तो रगत जम्ने समस्या जोन्सन एन्ड जोन्सनको खोपमा देखिएको बताएका छन्।

खोप लगाएका व्यक्तिको शरीरमा विकास भएको रोगप्रतिरोधी प्रणालीसँगै जोडिएको गडबडी भएको पनि उनको भनाई छ।

जोन्सन एन्ड जोन्सनले युरोपमा खोप अभियान स्थगन गर्ने र थप अनुसन्धान गरिने बताएको छ।

विगत तीन साताको अवधिमा खोप लगाएका व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए नदेखिएका बारेमा आफ्ना चिकित्सकसँग परामर्श गर्न अमेरिकी अधिकारीहरुले आग्रह गरेका छन्।

खासगरी बेस्सरी टाउको दुःख्ने, पेट दुःख्ने, खुट्टा दुःख्ने वा श्वास फेर्न कठिन हुने समस्या देखिए चिकित्सकसँग परामर्श गर्न भनिएको छ।

ह्वाइट हाउसले जोन्सन एन्ड जोन्सनका कारण अमेरिकी खोप अभियानमा असर नपर्ने विश्वास व्यक्त गरेको छ। यहाँ झण्डै आधा वयस्क व्यक्तिले कम्तीमा एक डोज खोप लिइसकेका छन्।

यसैबीच, जर्मनीमा ६० वर्षभन्दा कम उमेरका व्यक्तिले पहिलो डोज अस्ट्राजेनिकाको खोप लगाए पनि दोस्रो डोज अर्कै खोप दिने तयारी गरिएको छ।

जर्मनीले ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई रगत जम्ने खतरा भन्दै दुई डोज खोप नदिने यसअघि नै घोषणा गरिसकेको छ। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad