विस्कन्सिनबाट प्रतिनिधित्व गर्ने डेमोक्रेटिक नेता मार्क पोकनले हालै अमेजनले आफ्ना कर्मचारीलाई पानीको बोतलमा पिसाब फेर्न लगाएको भन्दै ट्वीट गरेका थिए।
त्यसपछि अमेजनले आफ्नो आधिकारिक ट्विटरमा पोकनको आरोप अस्वीकार गर्दै भनेको थियो,‘ त्यो विषय साँचो भएको भए हाम्रा लागि कसैले काम गर्ने थिएनन्।’
तर यतिबेला चालकहरूले बोतलमा पिसाब फेर्नुपरेको प्रमाण सार्वजनिक हुन थालेपछि अमेजनले माफी मागेको हो।
‘जनप्रतिनिधि पोकनसँग हामी माफी माग्छौं’ अमेजनले एक विज्ञप्तिमा भनेको छ,‘हाम्रो ट्वीट सही थिएन। त्यसले ठूलो सङ्ख्यामा रहेका चालकहरूबारे सही कुरा गरेन।’
आफूहरु सामग्री राखिने केन्द्रहरूमा मात्र केन्द्रित भएको र त्यस्ता केन्द्रहरूमा दर्जनौँ शौचालयहरू रहेको अमेजनको भनाइ छ।
पोकानले गत हप्ता लेखेका थिए,‘युनियन बनाउन नदिने र कामदारलाई पानीको बोतलमा पिसाब फेर्न लगाउने अमेजन कर्मचारीलाई प्रति घण्टा १५ डलर दिँदैमा प्रगतिशील कार्यस्थल हुँदैन।’
त्यसलगत्तै अमेजनको औपचारिक अकाउन्टमा भनिएको थियो,‘बोतलमा पिसाब फेर्ने कुरालाई तपाइँ विश्वास गर्न सक्नुहुन्न, सक्नुहुन्छ तर यदि त्यो साँचो हुँदो हो त हाम्रा लागि काम गर्ने कोही पनि हुँदैनथ्यो।’
त्यसपछि नै अमेजनका कर्मचारीले कामका बेला कुनै विकल्प नभएपछि प्लास्टिकको बोतलमा पिसाब फेर्नुपर्ने बाध्यतामा पर्ने गरेको भन्ने समाचार छापिएका थिए। बीबीसी

प्रतिक्रिया