गत २४ घण्टामा देशका विभिन्न भूभागमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सबैभन्दा धेरै वर्षा कर्णाली प्रदेशको रुकुम-पश्चिम (पिपलचौर) मा १८७.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
त्यसैगरी गण्डकी प्रदेशका कास्की जिल्लाको लुम्ले र स्याङ्जा जिल्लाको पञ्चमूल केन्द्रमा क्रमशः १३६ मिलिमिटर र १४४ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
मौसम महाशाखाले आज बिहान जारी गरेको मौसम प्रक्षेपण यस्तो छ:
दिउँसो : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा पनि साधारणतया बादल लाग्नेछ। कोसी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका साथै कोसी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कोसी प्रदेशको तराई भूभागका केही स्थानमा हुरीको समेत सम्भावना छ।
राति : कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेश साथै बागमती, गण्डकी प्रदेशका तराई भेगमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेश साथै सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा स्थान, कर्णाली प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका साथै कोसी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
काठमाडौँमा पनि मध्यम वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँ उपत्यकामा अहिले बिहान घाम लागे पनि अपराह्नपछि बादल बढ्दै जाने र वर्षा हुने सम्भावना छ।
‘अपराह्न, साँझ र राति वर्षाको सम्भावना बढी छ’, उनले आज बिहान सवा ८ बजे नेपालखबरसँग भने, ‘दिउँसो २/३ बजेपछि वर्षा सुरु हुने अनुमान छ। मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
यी जिल्लामा बाढीको जोखिम
वर्षासँगै देशभर बाढी-पहिरोको जोखिम पनि बढेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ललितपुरसहित देशका ९ जिल्ला र आसपास बाढी आउने सम्भावना छ।
बाढी महाशाखाले भनेको छ, ‘आज ललितपुर, मकवानपुर, सल्यान, रुकुम-पश्चिम, जाजरकोट, दैलेख, डोटी, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
बाढीबारे विस्तृत जानकारी तल


Shares

प्रतिक्रिया