समाज


देशैभर घट्दा राजधानीमा किन बढ्यो अपराध?

 देशैभर घट्दा राजधानीमा किन बढ्यो अपराध?

नेपालखबर
साउन २४, २०७६ शुक्रबार १०:२३,

काठमाडौँ उपत्यकामा विगतका वर्षको तुलनामा अपराधको संख्यामा वृद्धि भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा आव २०७५÷०७६ मा अपराधको संख्यामा वृद्धि भएको हो। उपत्यकाअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७४÷०७५ मा आठ हजार ३८५ मुद्दा दर्ता भएकामा आव २०७५÷०७६ मा उक्त संख्या बढेर १० हजार १५९ मुद्दा दर्ता भएको थियो। यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढी हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बढ्दो जनसंख्या र प्रहरीको सक्रियतासँगै उपत्यकामा अपराधको संख्या बढेको बताउछन्।

‘आव २०७५÷०७६ मा काठमाडौँमा आठ हजार ४६०, भक्तपुरमा ६७९ र ललितपुरमा एक हजार २० मुद्दा दर्ता भएका थिए’, उनले भने, ‘मुलुकको राजधानी काठमाडौँ उपत्यकामा देशभरका मानिस आएर बसोबास गर्ने ठाउँ भएकाले पनि यहाँ धेरै अपराध हुने गरेको छ।’

नेपाल प्रहरीले उपत्यका सीसीटीभीमार्फत अपराधी पत्ता लगाउँदै आएको छ। महानगरीय प्रहरी कार्यालयअन्तर्गत काठमाडौँमा १५, भक्तपुरमा तीन र ललितपुरमा तीन प्रहरी कार्यालयबाट मुद्दा चलाउने व्यवस्था गरिएको छ। उपत्यकाको सुरक्षाका लागि नेपाल प्रहरीले झण्डै १२ हजार जनशक्ति खटाएको छ।

मुलुकभर अपराध घट्यो

काठमाडौँ उपत्यकामा विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा अपराधको संख्यामा वृद्धि भएपनि देशभर भने अपराधको संख्यामा कमी आएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७४÷०७५ मा ३९ हजार ३१५ अपराधका मुद्दा दर्ता भएकामा आव २०७५÷०७६ मा उक्त संख्या घटेर ३८ हजार ३८९ मुद्दा दर्ता भएको थियो।

प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै देशभर अपराधको घटनामा कमी आएको बताउनुछन्। ‘प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि अपराधका घटनामा कमी आएको छ’, उनले भने।

देशभर ७५ हजारको हाराहारीमा प्रहरी कर्मचारीले सुरक्षा प्रदान गर्दै आइरहेका छन्। जिल्लामा भने जिल्ला प्रहरी कार्यालयमार्फत मुद्दा चल्ने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad