समाज


कालीगण्डकीमा ठूलो बाढी, डुब्यो विश्वकै ठूलो शालिग्राम शिला

कालीगण्डकीमा ठूलो बाढी, डुब्यो विश्वकै ठूलो शालिग्राम शिला

नेपालखबर
असार ३०, २०८३ मंगलबार ९:४२, म्याग्दी

पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ।

 

दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो।

शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थलसमेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए। उनका अनुसार कालीगण्डकीको बहाव बढेपछि शालिग्राम शिला डुबानमा परेको हो।

निरन्तर वर्षाका कारण कालीगण्डकी र सेतीखोलामा पानीको सतह ह्वात्तै बढेको छ। शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् भने नियमित पूजापाठ र दर्शन गर्न आउने भक्तजन पनि शालिग्राम शिलाको दर्शन गर्नबाट वञ्चित भएका छन्।

सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव र कालीगण्डकीको उच्च बहावका कारण शिला परिक्रमास्थलसमेत पूर्णरूपमा क्षतविक्षत बनेको स्थानीय तिलक पराजुलीले बताए। उनले शिला क्षेत्र डुबानमा परे पनि बस्तीमा भने तत्काल कुनै खतरा नरहेको जानकारी दिए।

पवित्र शालिग्राम शिलासँगै शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबानमा परेका छन्। शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियन जालीसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाइएको छ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सीमामा पर्ने सेतीवेणी बजार डुबानको जोखिममा पर्ने गरेको छ। कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीवेणी बजार डुबानमा पर्ने चिन्ताले पर्वततर्फको बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका– ५ तर्फको बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधारण त्रसित बन्ने गरेका छन्।

दुई वर्षअघि साउनमा आएको बाढी बजारसम्म पुग्दा एक घर भत्किएका थियो भने आधा दर्जन घर विस्थापित भएका थिए। कालीगण्डकी नदीको बहाव परिवर्तन नगरेसम्म जोखिम कायम रहने गल्याङ नगरपालिका– ५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए। उनका अनुसार गुल्मीतर्फबाट बहाव लगेर शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने माग रहेको छ।

शालिग्राम शिला अवस्थित स्थाननजिक रहेका स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले आवश्यक समन्वय गरेर सेतीवेणी क्षेत्रको संरक्षण गर्नुपर्ने विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad