रुसमा सोमबार युक्रेनले प्रहार गरेको ड्रोनले चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
स्थानीय अधिकारीका अनुसार आक्रमण अधिकांश मस्को क्षेत्र आसपास केन्द्रित थिए।
रुसको निरन्तर आक्रमणको जवाफस्वरूप युक्रेनले पनि हमला तीव्र बनाएको हो।
रुसीका ऊर्जा संरचना तथा अन्य रणनीतिक क्षेत्रमा गरिएका आक्रमणलाई युक्रेनले आफ्नो 'प्रतिरक्षात्मक कदम' भनेको छ।
मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभले टेलिग्राममार्फत इस्ट्राको पियोनेर्स्की बस्तीमा ड्रोन खसेर तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएको बताएका छन्।
सोही क्षेत्रको अर्को भागमा थप दुई जना घाइते भएको उनले बताए।
रुसी वायु रक्षा प्रणालीले मस्को क्षेत्रमा ८१ वटा ड्रोन नष्ट गरेको भोरोब्योभले दाबी गरे।
युक्रेनसँग सीमा जोडिएको बेल्गोरोद क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको र दुई पुरुष घाइते भएको स्थानीय अधिकारीले बताएका छन्।
यसैगरी, दक्षिणी स्टाभ्रोपोल क्षेत्रमा भएको ड्रोन आक्रमणपछि एउटा औद्योगिक क्षेत्रमा आगलागी भएको क्षेत्रीय गभर्नर भ्लादिमिर भ्लादिमिरोभले जानकारी दिए।
उनका अनुसार घटनास्थलमा उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको थियो र मानवीय क्षति भएको छैन।
'क्षेत्रभरि ड्रोन आक्रमणको जोखिम कायमै छ। सबैलाई सतर्क रहन आग्रह गर्दछु', उनले भनेका छन्।
Shares

प्रतिक्रिया