अटो


सवारी कारबाहीबाट रु ९१ लाख राजश्व संकलन

सवारी कारबाहीबाट रु ९१ लाख राजश्व संकलन

सुशीला रेग्मी
साउन २४, २०७६ शुक्रबार १०:१९,

गत आर्थिक वर्षका पाल्पामा १५ हजार ४८ सवारी चालक कारबाहीमा परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५/७६ मा कारवाहीमा परेका चालकबाट रु रु ९१ लाख १९ हजार ५०० राजश्व संकलन भएको छ।

कारबाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र मिनी ट्रकका चालक रहेका छन्। सो अवधिमा कारवाहीमा परेका चार हजार २६७ ट्रक र मिनी ट्रकबाट रु २५ लाख ७२ हजार ५०० राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ।

यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार १७७ बस र मिनी बसबाट रु १८ लाख ९२ हजार, तीन हजार २१८ जीप, कार, भ्यान र माइक्रोबाट १८ लाख ८१ हजार, एक हजार ५४७ ट्र्याक्टरबाट रु नौ लाख २५ हजार २५ तथा दुई हजार ८३९ मोटरसाइकलबाट रु १८ लाख ४९ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले जानकारी दिए।

आवश्यक कागजपत्र नबोक्ने, ट्राफिक नियम उल्लंघन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा सामान ओसारपसार गर्ने सवारी चालक कारबाहीमा परेको उनले बताए।

उनले भने, ‘ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियम पालना गर्दैनन्।’

आव ०७४/७५ मा १२ हजार ८३० सवारी साधनको कारवाहीबाट रु ७९ लाख २५ हजार राजश्व संकलन भएको थियो।

सो अवधिमा कारवाहीमा परेका तीन हजार ७७० ट्रक र मिनी ट्रकबाट रु २२ लाख २३ हजार, दुई हजार ७१ बस र मिनीबसबाट रु १२ लाख ३७ हजार, दुई हजार ६४८ जीप, कार, भ्यानबाट रु १५ लाख ९४ हजार, ९९३ ट्र्याक्टरबाट रु पाँच लाख ६८ हजार ५००, तीन हजार ३३९ मोटरसाइकलबाट रु २१ लाख २२ हजार ५०० राजश्व संकलन भएको थियो।

ट्राफिक प्रहरी कार्यालय पाल्पाले बेलाबेलामा सरोकारवालासँग पुगेर ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ। तर जिल्लामा सवारी साधन बढ्दै जानु र नियम मिचेर सवारी चलाउने गर्दा राजश्व बढ्दै गइरहेको पाइएको छ।

धमाधम जनचेतना तर व्यवहारमा शून्य

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा दिनहुँजसो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ। तर शिक्षित व्यक्ति नै दुर्घटनामा बढी पर्ने गरेका हुन् । विद्यालयस्तरबाटै ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सिकेको ज्ञानलाई व्यवहारमा नउतार्दा दुर्घटना न्यूनीकरण हुन सकेको छैन।

ट्राफिक प्रहरीले विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराउँदै आएको छ तर पनि प्रहरीले चलाएको अभियान सफल हुन सकेको छैन।

ट्राफिक प्रहरीले सामुदायिक सेवामार्फत व्यावसायिक चालक तथा परिचालक र सर्वसाधारणलाई पनि सचेतना जगाउन कार्यक्रम सञ्चालन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .