सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता नरेश रेग्मी र डा. क्षमता सुवेदीले नेकपाको केन्द्रीय कार्यालय पेरिसडांडामा प्रगतिशील विवाह गरेका छन्। वर रेग्मी साविक माओवादी केन्द्र निकटको अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिव हुन् भने वधु सुवेदी क्रान्तिकारीकी समर्थक हुन्। विवाह समारोहको आयोजना अनेरास्ववियू केन्द्रीय कमिटीले गरेको हो।
झापा दमककी सुवेदी र दाङ तुलसीपुरका रेग्मीलाई वधाई दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामवहादुर थापा, नेतृ पम्फा भुषाल, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल लगायतका नेताहरु पेरिसडांडा पुगेका थिए।
प्रगतिशील मान्यता अनुसार विवाहको मुल कर्म करिव ५ मिनेटमा सकिन्छ। मञ्च अगाडिको टेवलमा तिनवटा मैनवत्ती राखिएको हुन्छ। विचको मैनवत्ती ठुलो हुन्छ। शुरुमा छेउछेउका एकएकवटा मैनवत्ती वर र वधुका बाआमाले सल्काउँछन्। पछि आआफ्ना वाआमाले सल्काएका मैनवत्तीले वरवधु दुवैले एकैसाथ विचको ठुलो मैनवत्ती सल्काउँछन्। उपस्थित दर्शकले जोडदार ताली बजाउँछन्। अनि वरवधु दुबैले एकअर्कालाई फूलको माला लगाउँछन्। त्यसपछि विहेका पुरहित (कार्यक्रम सञ्चालक) सुरेन्द्र बस्नेतले विहे सकिएको घोषणा गर्छन्।
विवाहको फजुल खर्चवाट वचेको रकम वरवधुका आफन्तले सामाजिक कार्यका लागि खर्च गर्ने जनाएका छन्। उनीहरूले विभिन्न पाँचवटा सामाजिक तथा शैक्षिक संस्थालाई उक्त रकम हस्तान्तरण गर्ने घोषणा गरेका छन्।
झापाको दमक वहुमुखी क्याम्पसका जेहेन्दार विद्यार्थीका लागि ५० हजार, झापाकै दमक अपाङ्ग सहयोग समितिलाई ५० हजार, झापाकै बालवृद्ध आश्रमका लागि ५० हजार, झापाकै माओवादी अध्ययन केन्द्रको पुस्तकालयलाई १० हजार बराबरका पुस्तक र पब्लिक लाइब्रेरीलाई १० हजार बराबरका पुस्तक दिने घोषणा वरवधुका आफन्तका तर्फबाट वेहुलीकी आमा राधिका ओझाले गरेकी छिन्। ओझा साविक माओवादी निकट नेपाल राष्ट्रिय वुद्दिजिवी संगठनकी केन्द्रीय सचिव हुन्।
यस्तो प्रगतिशील विवाहले सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि समाजमा सकारात्मक सन्देश दिने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले वताए।

प्रतिक्रिया